विपद्मा सञ्चार : सूचना जसले जीवन जोगाउँछ
काठमाडौँ। भनिन्छ— सूचना खान त मिल्दैत, तर सूचना नपाउँदा मानिस भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो ।
मानिसको दैनिक जीवनयापनकै लागि यति महत्वपूर्ण सूचना विपद अथवा प्रकोपका बेलामा झन् कति महत्वपूर्ण होला ? यसकारण अहिले प्रकोप या विपत् रिपोर्टिङलाई पनि विश्वमा पत्रकारिताको एक अलग्गै र विशेष विधाका रुपमा अध्ययन र अभ्यास गर्ने गरिएको छ ।
मानिसका लागि सबैभन्दा प्रिय वस्तु भनेको आफ्नो शरीर हो । उ बाँच्न र सदैव सुरक्षित रहीरहन चाहन्छ । त्यसैले मानिसको बाँच्ने चाहनाको खोजीमा प्रकोप या विपदप्रति उसको सबैभन्दा ठूलो चासो एवं सरोकार रहन्छ । पत्रकारिता मानवीय अभिरुचीमा नै बढी केन्द्रित हुने भएकाले नै विश्वमै पछिल्लो समयमा वातावरण, अपराध, विकासज, खेलकूदजस्तै विपद् रिपोर्टिङलाई पनि एक अलग्गै विधा र विषयका रुपमा विकास गरेको छ ।
प्राकृतिक लगायतका विविध महामरीजन्य प्रकोप अथवा विपदका समयमा सूचनाले मानिसको ज्यान बचाउने काम गर्ने भएकाले मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको यो विषयभन्दा अर्काे ठूलो मानवीय अभिरुची हुने कुरा पनि भएन । यस्तो अवस्थाको रिपोर्टिङ मानव समुदायलाई अन्य सामान्य अवस्था या समयको भन्दा पनि बढी महत्वपूर्ण र आवश्यक रहन्छ । जस्तो कि जापान, इन्डोनेसिया लगायतका सामुद्रिक देशहरुमा भूकम्प गएपछि सुनामीको सम्भावना छ कि छैन भन्ने सूचना बडो महत्वपूर्ण हुन्छ र मानिसहरु त्यही सूचना कुरेर बसिरहेका हुन्छन् । भूकम्पपछिको यो सूचनाको प्रतिक्षामा लगमग सबै नागरिक रहन्छन् । यदि सुनामीको खतरा छ भने उनीहरु समुद्र तटभन्दा टाढा या त्यस्तै सुरक्षित स्थानमा निस्कन्छन् र यसले हजारौँ मानिसको ज्यान बच्दछ ।
प्राकृतिक विपद र यो प्रकोपको समाचार सम्प्रेषण अति जटिल र संवेदनशील काम हो । जस्तो युद्ध या द्धन्द्धका बेलामा पत्रकारले समाचार सम्प्रेषण गर्दा समाचारदातालाई बढी गाह्रो हुन्थ्यो, यो विपद या प्रकोप समाचारको रिपोर्टिङमा पनि त्यस्तै अप्ठेरो हुन्छ । युद्धका समयमा कतिपय अवस्थामा समाचारदाता नै द्वन्द्वरत क्षेत्रमा नै खट्नुपर्ने हुदा बढी जोखिम हुन्छ ।
जस्तो कि मध्यपूर्वी राष्ट्रहरुमा चलेको प्रजातन्त्रको आन्दोलनमा कैयौँ युरोपेली, अमेरिकी पत्रकार यस्तो समाचारको रिपोर्टिङकै सिलसिलामा मारिएका थिए । सिरियामै कैयौँ विदेशी पत्रकार मारिएका छन् । उनीहरुले समाचार पनि दिनुपर्छ र आइपर्ने जोखिम पनि उत्तिकै सामना गर्नुपर्छ । यतिमात्र होइन कि उनीहरुलाई द्वन्द्वरत पक्ष विपक्षले पनि आफ्ना कुरा नआएमा तारो बनाउँछ ।
त्यस्तै जोखिम यो विपदको समाचार दिने पत्रकारमा पनि छ । पहिलो कुरा त उनीहरु विपद या प्रकोप भइरहेको स्थानमा नै खट्नुपर्छ । त्यहाँ प्राकृतिक या मानवनिर्मित के कस्तो विपद हो त्यसको जोखिम रहन्छ । त्यस घटनाको सूचना जतिसक्दो चाँडै दिनुपर्छ र आफू पनि बच्नुपर्छ । जस्तै नेपालमा विसं २०७२ को महाभूकम्पका समयमा कैयौँ रेडियो, टेलिभिजनकर्मी आ—आफ्नो स्टुडियोबाट समाचार प्रशारण गर्न बाध्य भए तर पनि ती स्टुडियो राखिएका घर भूकम्पबाट सुरक्षित थिए या थिएनन् भन्ने सूचना उनीहरुसँगै थिएन । यसरी आफू खतरामा रहेर पनि उनीहरु सूचना दिन बाध्य भएजस्तै हो प्रकोप रिपोर्टिङको अवस्था । भूकम्पको जोखिमक अवस्थामा पनि फिल्डमै खटेर समाचार सम्प्रेषण गर्नु त छँदैछ ।
प्रायः प्रकृतिले पार्ने प्रकोप नै यसअन्र्तगत पर्दछन् जस्तो कि बाढी, पहिरो, चट्याङ, ज्वालामुखी, हुरी बतास, आँधी, भूकम्प, सुनामी, खडेरी, शीतलहर आदि । यो मानिसको काबुबाहिरको अवस्था हो । प्रकृतिले पार्ने यसलाई प्राकृतिक प्रकोप भनिएको हो । मानिसले यस्ता प्रकोप हटाउन सक्दैन तर केही प्रयासहरुबाट घटाउन भने सकिन्छ । प्रकोप या विपद भइसकेपछि मानिसलाई सुरक्षित बनाउन भने विपद रिपोर्टिङ आवश्यक पर्दछ ।
फेरि कतिपय मानवनिर्मित प्रकोपहरु पनि हुन्छन् । युद्ध, द्वन्द्व, यातायात दुर्घटना, आगलागी आदि मानव निर्मित प्रकोप हुन् । यस्ता प्रकृतिका प्रकोपहरुलाई रोक्न पनि सकिन्छ । तर प्राकृतिक प्रकोपलाई हामीले माथि भनेजस्तै रोक्न सकिँदैन । मानिसले सिर्जना गर्ने वातावरण र परिस्थितिका कारण यस्ता प्रकोपहरु हुने भएकोले यी प्रकोपलाई हटाउन पनि सकिन्छ । युद्ध र द्वन्द्वको अवस्था मानिसले नै सिर्जना गर्ने हो । त्यसैले मानवनिर्मित प्रकोप या विपद व्यवस्थापनका लागि समाचारदाताको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।
सामान्यतया प्रकोप विपद् रिपोर्टिङलाई तीन चरणमा अध्ययन या अभ्यास गर्न सकिन्छ । प्रकोप या विपदअघिको सञ्चार अर्थात् रिपोर्टिङ, प्रकोप भइरहेकै समयको रिपोर्टिङ र प्रकोपपछिको रिपोर्टिङ ।
प्राकृतिक विपत्तिको बारेमा पहिले नै जानकारी पाएर समाचारदाताले समाचार त लेख्न सक्दैन । तर पनि त्यसको पूर्वतयारीको सञ्चार भने गर्न सक्छ । विपद आउनुअघि नै सजगता अपानाएर समाचार सम्प्रेषण गर्न सकेमा यस्ता सूचनाहरुबाट नागरिकको ज्यान बच्ने र ठूलो क्षति हुनबाट जोगिनसक्छ । पत्रकारिताको काम क्षति हुन नदिने, क्षति भए पनि क्षतिको न्यूनिकरण गर्ने र क्षति प्रकोप आउनु अगावै पनि नागरिकलाई सजग, सचेत गराउने नै हो । हुनत यस्तो काम सजिलो छैन, त्यसैले पत्रकारिता जटिल जागिर नै हो ।
भूकम्प, बाढी, पहिरो आगलागिजस्ता दैवी तथा प्राकृतिक प्रकोपहरु कहिले र कुनबेला आउँछन् भन्ने बारेमा पत्रकारलाई पहिल्यै थाहा हुने कुरा त भएन तर पनि यस्ता प्रकोपहरु आउनसक्छन् भनेर पत्रकारले ती प्रकोपबाट सामान्यतया बच्न सक्ने सूचना दिँदा त्यसले आम मानिसमा ठूलो सहायता पुग्छ । जस्तो कि भोटेकोशीमा ठूलो बाढी आउँदा तटीय क्षेत्रका नागरिकले माथि भागेर बाँच्नसक्ने, त्यो भन्दा पनि धेरै खोला किनारहरुमा बस्ती नबसाल्ने जस्ता सूचनाले सर्वसाधारणलाई सजग त गराउन सक्छ ।
खोलामा घर बनाउनु हुँदैन भन्ने सामान्य जानकारी त सबैमा होला, तर पनि भोटेकोशीको उत्पत्तिस्थलमा ठूला हिमताल रहेका र जलवायु परिवर्तनको प्रभावका कारण ती पग्लिएर क्षति पुर्याउन सक्ने सूचना पत्रकारले पहिले नै पनि दिन सक्दछ । भूकम्प कुनबेला आउँछ भन्ने बारेको पूर्वसूचना दिन नसके पनि भूकम्पले पुर्याउने क्षतिबारे जानकारी गराएर सुरक्षित संरचना निर्माणमा सूचनाले काम गर्न सक्छ ।
त्यस्तै भूकम्पपछि कसरी बच्ने, उद्धार कसरी गर्ने, औषधिउपचारको व्यवस्था कस्तो हुने, अस्पतालहरुले त्यस्तो अवस्थामा कसरी कामगर्ने, त्यस्तो आपतको बेलामा खानेपानी, अत्यावश्यकीय सेवाको आपूर्ति कसरी गर्ने भन्ने बारेमा सूचनाबाट व्यक्ति तथा राज्य पनि लाभान्वित हुनसक्छ ।
अर्काे स्टेप हो प्रकोप या विपदको समयको रिपोर्टिङ । प्रकोप या विपद भइरहेकै बेलामा गरिने समाचार सम्प्रेषण यसअन्तर्गत पर्दछ । विपद्पूर्वको भन्दा बढी संवेदनशिल समय र कार्य दुवै हो । अझ भन्ने हो भने त समाचारको मूल्यको हिसाबले हेर्दा यो समयको रिपोर्टिङको महत्व र संवेदनशीलता धेरै ठूलो छ । किनभने यस्तो बेलामा अत्तालिएका मानिसले आफू बच्ने उपाय तथा कम क्षतिका लागि सहारा खोजिरहेको हुन्छ । यस्तो बेलाको सही सूचनाले कैयौँमा सान्त्वना दिन तथा नागरिकको ज्यान जोगाउन सक्छ । यस्तो समयको सहारा भनेको रेडियो, टिभी नै हुन् र अहिले त्यो भन्दा बढी प्रभावकारी सामाजिक सञ्जाल भएका छन् ।
प्रकोपले पत्रकार नचिन्ने भएकाले सबैभन्दा पहिला त आफ्नो ज्यान जोगाएर काम गर्नुपर्छ । यो अरु बेलाको जस्तो सामान्य अवस्था होइन भनेर बुझ्नुपर्दछ । समाचारदाताहरु सम्भव छ भने सकेसम्म दुर्घटनास्थलमा पुगेको राम्रो । यसले नागरिकले बच्ने उपायहरु कसरी अपनाएका छन् भन्ने कुरा थाहा हुन्छ । ती उपायको रिपोर्टिङ अन्यत्रलाई पनि काम गर्नेछ ।
जस्तो कि विसं २०७२ को भूकम्पका समयमा असन, बागबजार, नयाँ सडकका बाक्लो बस्तीका नागरिकहरु खुलामञ्चमा जम्मा भएका थिए । मिडियाले यो समाचारका साथै सबै नागरिकलाई घर, पर्खाल या कुनै संरचनाको नजिक नबस्न र खुल्ला चौरमा बस्न सुझाव दिएका थिए ।
नागरिकले के समस्या भोगेका छन्, अत्यावश्यकीय सेवा जस्तो पानी, औषधि या उद्धार सेवा पाएका छन् कि छैनन् भन्ने बारेको सूचना महत्वपूर्ण रहन्छ । यस्ता सूचनाले सरकारलाई उद्धारको कामगर्न, अत्यावश्यकीय सेवा पुर्याउन सहयोग गर्नेछ ।
कहाँ के कति क्षति भयो, प्रकोप कति सयम रहन्छ, बच्ने कस्ता उपाय अवलम्बन गर्ने, भन्ने कौतुहलमा बाँचिरहेका मानिसलाई सान्त्वनायुक्त सूचनाले काम गर्छ । त्यसैले यस्तो समयको सबैको अभिभावक मिडिया नै मानिन्छ । भूकम्पका समयमा नागरिकका कान कानमा रेडियो झुण्डिएको त हामीले देखेकै हो । त्यस्तो बेलामा नागरिकलाई गलत सूचना दिइयो भने अवस्था के होला ?
यस्तो समयमा सञ्चारकर्मीले आफू पत्रकार होइन कि उद्धारकर्मी नै हुँ भनेर काम गर्नुपर्छ । उ आफैले उद्धारका सामग्री बोकेर जाने होइन कि यस्तो समयमा सुरक्षाकर्मी, उद्धारकर्मी, सरकार, चिकित्सकको आँखा सबैतिर नपुग्न पनि सक्छ र ती आँखा पत्रकारले पुर्याइदिनुपर्छ ।
प्रकोप पछिको रिपोर्टिङ अर्काे चरण हो र यतिखेर हामी भोटेकोशी बाढीको प्रकोपपछिको यही चरणमा छौँ । यो अवस्था भनेको प्राकृतिक या मानवीय प्रकोप भइसकेपछिको तत्कालैको उद्धारबाट सुरु भएर पीडितहरुको पुनस्र्थापनासम्मको हो । सुरुमा प्रकोपको तत्कालको उद्धारको कामलाई समाचारदाताले पछ्याउनुपर्छ । त्यसपछिको चरण भनेको दीर्घकालीन रुपमा पीडितलाई पुनस्र्थापना गर्ने, राज्यले सहायता दिने र ती भत्किएका या क्षति पुगेका संरचनाहरको पुनर्निर्माणको कामगर्नेसम्म पर्दछ ।
यो चरणमा के कति क्षति भयो, कस्तो असर गर्यो भन्ने विभिन्न खालका समाचार, विश्लेषण आउँछन् । त्यसैले यस्तो बेलामा सरकार र सम्बन्धित निकायलाई सही सुझाव दिएर पीडितलाई सहयोग पुर्याउने खालका समाचारहरु दिनुपर्दछ । प्रकोप र विपदमा परेका नागरिकलाई उद्धारपछि राहातको कामका लागि रिपोर्टिङको माध्यमबाट सहयोग गर्नुपर्छ । यहाँनेर आइपुग्दा उद्धारको काम लगभग सकिएर राहात सुरु भएको हुन्छ ।
राहातको काममा सरकारको ध्यान नपुग्न पनि सक्ने भएकाले यस्तो अवस्था आउन नदिनका लागि समाचारले निगरानी गर्नुपर्छ । प्रकोप पीडित नागरिक कहाँ छन्, कस्तो अवस्थामा बसेका छन्, उनीहरुको भौतिक सम्पत्ति के कति र कसरी गुमेको छ, परिवार गुमाएकाका लागि सरकारले तत्कालका लागि के गर्नसक्छ र गर्नुपर्छ भन्ने बारेमा निरन्तर रुपमा रिपोर्टिङ गर्नुपर्छ ।
परिवारका सदस्य गुमाउने, घरबास गुमाउनेजस्तो पीडामा नागरिक पर्ने भएकाले यस्तो अवस्थामा सरकार उनीहरुको साथमा पुगेको छ छैन, समुदाय या अन्य दातृ संस्थाको सहयोग प्राप्त भएको छ छैन भन्ने विषयमा ध्यान दिनुपर्छ । अब यहाँ तत्कालका लागि प्रदान गरिएको राहात नभएर दिगो तथा स्थायी पुनस्र्थापनाका बारेमा पनि प्रेसले सरकार र भएका अन्यको ध्यानाकर्षण गराउनुपर्दछ । एकराज पाठक/ रासस







प्रतिक्रिया राख्नुहोस्