तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यकतामा कमी नहुने गरी काम गरिरहेको बताउनुभएको छ । 

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावितको उद्धार, राहत कार्यमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अहिले यो दुई–चार दिन हामी राहत र उद्धारमा नै खटिरहेका छौँ । अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ,” उहाँले भन्नुभयो, “मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेकै छन् ।” 

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ३४ करोड रहेको बताउनुभयो । “अर्थ मन्त्रालयले गृह मन्त्रालयको लागि एक अर्ब १७ करोड विनियोजन गरिसकेको छ,” उहाँले भन्नुभयो, “हामीसँग अहिले तत्काललाई साधन, स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि मन्त्रिपरिषद्को बैठकले मलाई जिम्मेवारी दिएको छ ।” अर्थमन्त्री वाग्लेले उद्धार र राहतपछि मात्रै दीर्घकालीन, मध्यकालीनरूपमा पुनर्निर्माणका कामहरू अघि बढाइने बताउनुभयो । 

प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भने अत्यास लाग्दो रहेको बताउँदै उहाँले तथ्य र तथ्याङ्क आइसकेपछि २०७२ सालको भूकम्पमा जसरी नै पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अर्थमन्त्री वाग्लेले स्रोतसाधन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा पनि सरकार लागिसकेको स्पष्ट पार्नुभयो । “हामीले विश्व बैंकसँग कुरा गरेर करिब रु २५ अर्ब जतिको आर्थिक सहायता जुटाएका थियौँ,” उहाँले भन्नुभयो, “चीन, भारत, जापान सरकारबाट, एसियाली विकास बैङ्कबाट, इन्टरनेसनल फेडरेसन अफ द रेडक्रस जेनेभाबाट तुरुन्तै सहयोगहरू आउने प्रतिबद्धता हामीले पाएपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढेका छौँ ।” 

अर्थमन्त्री वाग्लेले बाढीको कारणले करिब २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको बताउनुभयो । अर्थमन्त्री वाग्लेले सरकारले मात्रै नभएर सबै निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । “समाजका सबै पक्ष, दल, निकायहरू पुनः निर्माणको अभियानमा लाग्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button