अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालको दोस्रो जित
काठमाडौँ । नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।
बुधबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध ४ विकेटको जित हात पारेको हो । योसँगै नेपालले प्रतियोगितामा चार खेलबाट दुई जित र दुई हारसहित ४ अंक जोडेको छ । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो ।
अर्को खेलमा बङ्गलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो । तर, तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो ।
एसीटीले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर १४४ रन बनाएको हो । नेपालका कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
मयांक यादव २१ र लोकेश बम १२ रनमा आउट हुँदा पवन सर्राफ २९ र विपिन खत्री ३ रनमा अविजित रहे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।







प्रतिक्रिया राख्नुहोस्