तपाईँ सुन्दै हुनुहुन्छः

बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख व्यक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

आज बिहान अचानक आएको बाढीका कारण नुवाकोटको बेत्रावती, बनार, त्रिशूली, देवीघाट लगायतका बजार तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्को यस घडीमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले बाढी, पहिरो लगायत प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी, खोला तथा जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन अपिल गर्नुभएको छ । 

उहाँले विपद्को समयमा एकअर्कालाई सहयोग गर्न तथा उद्धार र राहत कार्यमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले विपद्का समयमा सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचना, चेतावनी र निर्देशनको पालना गरी सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्नसमेत सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button