तपाईँ सुन्दै हुनुहुन्छः

कालो तिलको महत्व बढ्दै, उत्पादन घट्दै

मुगु । मुगुमा रैथाने कालो तिलको धार्मिक तथा सांस्कृतिक महत्व उच्च रहे पनि पछिल्लो समय यसको उत्पादन भने घट्दै गएको छ। जिल्लाका ग्रामीण क्षेत्रमा कालो तिल फाटफुट रूपमा मिश्रित बालीका रूपमा खेती हुँदै आए पनि व्यावसायिक उत्पादनतर्फ किसानको आकर्षण बढ्न नसक्दा यसको खेती क्रमशः घट्दै गएको हो।

छायाँनाथ रारा नगरपालिका–स्थित गमगढीको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंका अनुसार रैथाने कालो तिल मुगुको परम्परागत बाली हो। अहिले पनि केही किसानले अन्य बालीसँगै मिश्रित रूपमा यसको खेती गर्दै आए पनि व्यावसायिक रूपमा उत्पादन गर्ने चलन भने छैन।

“रैथाने कालो तिल जन्म, मृत्यु लगायतका धार्मिक संस्कारमा अत्यावश्यक मानिन्छ। यसको धार्मिक महत्व धेरै भए पनि अहिले खेती गर्ने क्रम घट्दै गएको छ,” उहाँले भन्नुभयो।

स्थानीय उत्पादन घट्दै गएपछि पूजाआजा तथा उपभोगका लागि बाहिरबाट ल्याइएको तिलको तेल प्रयोग गर्ने क्रम बढेको पुजारी चौलागाईंले बताउनुभयो। यसले स्थानीय रैथाने कालो तिलको संरक्षणमा थप चुनौती थपिएको उहाँको भनाइ छ।

स्थानीय समाजसेवी हरिकृष्ण ऐडीले रैथाने कालो तिल लोप हुने अवस्थामा पुगे पनि यसको संरक्षण र प्रवर्द्धनमा पर्याप्त चासो नदिइएको बताउनुभयो।

“हाम्रो परम्परागत रैथाने कालो तिल विस्तारै हराउँदै गएको छ। यसको संरक्षण र प्रवर्द्धनका लागि सम्बन्धित निकायले चासो दिनुपर्छ। किसानलाई प्रोत्साहन गरी उत्पादन बढाउन सके रैथाने बालीको संरक्षणसँगै स्थानीय किसानको आम्दानीसमेत बढाउन सकिन्छ,” ऐडीले भन्नुभयो।

स्थानीयवासीका अनुसार खेतीयोग्य जमिन बाँझिँदै जानु, तिल खेतीलाई व्यावसायिक बनाउन नसक्नु र किसानको प्राथमिकता अन्य बालीतर्फ बढ्नुजस्ता कारणले रैथाने कालो तिलको उत्पादन घट्दै गएको हो।

रैथाने कालो तिलको धार्मिक, सांस्कृतिक तथा आर्थिक महत्वलाई संरक्षण गर्दै यसको उत्पादन र प्रवर्द्धन गर्न स्थानीय तहले बीउ संरक्षण, किसानलाई प्रोत्साहन, प्राविधिक सहयोग र बजारीकरणमा ध्यान दिनुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button