तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली खेलकुदको २०औँ संस्करण सम्पन्न

काठमाडौँ । सात दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको २०औँ संस्करण जापानको नागोया शहरमा एक समारोहका बीच सम्पन्न भएको छ ।

नागोयास्थित मिजुह पार्क एथ्लेटिक्स स्टेडियममा एक भव्य समारोहका बीच १६ दिने एसियाली खेलकुद आयोजनाले बिदाइ पाएको हो ।

समापन समारोहमा यस आयोजनाको बिदाइ र आगामी संस्करणको स्वागत मुख्य आकर्षण बन्यो । ४५ देशका खेलाडीहरूको मार्चपास्टसँगै समापन समारोहको सुरुआत भएको थियो । अबको चार वर्षपछि २१ औँ एसियाड कतारको दोहामा हुँदै छ । २०औँ एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्‍यो । सन् २०३० मा उक्त एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ ।

आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) लाई ओसिएको झन्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो । उक्त झन्डा ओसिएका अध्यक्ष शेख जोएन बिन हमाद अल थानीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हस्तान्तरण गरे ।

कतारले दोस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि सन् २००६ मा दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो । 

खेलाडी, प्रशिक्षक र अफिसियल गरी १७ हजारभन्दा बढी यस खेलकुदको सहभागी रहे । जहाँ ४५ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले ४३ खेल विधामा ४ सय ६९ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसपटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो । यसअघि घरमै भएको १९औँ एसियाडमा २०१ स्वर्ण जितेको चीनले यसपटक १६९ स्वर्ण ८९ रजत र ८१ कांस्यसहित ३४१ पदक जितेर शीर्ष स्थानमा रह्यो ।

नेपाल दुई कास्य जित्दै संयुक्त रुपमा ३६औँ स्थानमा रह्यो । १९औँ एसियाडमा नेपाल ३३औँ भएको थियो । सहभागी ४५ मध्ये ५ राष्ट्र र रिफ्युजी टिमले कुनै पदक जित्न सकेनन् । भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर लेस्टे र यमनले कुनै पदक जित्न सकेन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button