पोखरामा असोज २ र ३ गते प्रदेश स्तरीय मिडिया कप फुटसल प्रतियोगिता हुने
पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा प्रतियोगिता आगामी असोज २ र ३ गते पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा सञ्चालन हुने प्रालिका अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितालाई पोखरा महानगरपालिका–१२ ले सहयोग गर्ने भएको छ । वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले प्रतियोगिता सफल बनाउन वडा कार्यालयको तर्फबाट सहयोग गर्ने सहमति भएको प्रालिले जनाएको छ । प्रतियोगितालाई सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै वडाध्यक्ष बास्तोलाले मिडिया कप फुटसललाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने जिल्लाका टोलीलाई मायाको चिनो तथा प्रमाणपत्र समेत प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ भने टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा क्रियाशील सञ्चारकर्मी तथा सञ्चार माध्यमसँग आबद्ध खेलाडीबीच आपसी भाइचारा, सहकार्य र खेलकुदको माध्यमबाट स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्