२१ जना पूर्व कप्तानहरूद्वारा पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका २१ जना पूर्व कप्तानहरूले प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन् ।
पूर्व कप्तानहरूले प्रधानमन्त्री शहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्वप्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।
‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको उल्लेख गरिएको छ ।
उक्त मेडिकल बोर्डमा इमरान खानका निजी चिकित्सकहरूका साथै उनकी बहिनी डा. उज्मा खानलाई पनि समावेश गर्नुपर्ने अदालतको आदेश थियो । अदालतले इमरानको परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्नसमेत आदेश दिएको थियो ।
पूर्व कप्तानहरूले इमरानलाई अस्पतालमा केही घण्टा मात्र राखिएको र अदालतको आदेशअनुसार गठन गरिएको मेडिकल बोर्डबाट नभई सरकारले नियुक्त गरेको टोलीबाट उनको स्वास्थ्य परीक्षण गरिएको दाबी गरेका छन् ।
उक्त टोलीले उनलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गर्दै पुनः अदियाला जेल पठाएको पूर्व कप्तानहरूको भनाइ छ । प्रधानमन्त्री शहबाजलाई पूर्व कप्तानहरूले पठाएको यो दोस्रो पत्र हो । यसअघि १४ फेब्रुअरीमा १४ जना पूर्व कप्तानले इमरानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेका थिए ।
त्यतिबेला इमरानको परिवारले आँखाको समस्याका कारण उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको र जेलमा उचित उपचार नपाएको दाबी गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्