तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको कृषि समितिमा मानव-वन्यजन्तु द्वन्द्वसम्बन्धी छलफल

काठमाडौँ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धमा छलफल भएको छ । 

समितिको आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो । 

प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा एक लाख १२ हजार रातो बाँदर रहेका छन् । 

प्राविधिक  कार्यदलले ४४ पालिकामा गरेको अध्ययनबाट ५३ प्रतिशत बालीनालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ । 

त्यसैगरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदरमध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरूसमेत सुझाएको छ । 

बाँदर नियन्त्रणका लागि सरकारले स्थानीय तहमार्फत हेरालु राख्न सक्ने, बाँदरको संख्या घटाउन सक्नेदेखि कृषिमा वैकल्पिक खेती सम्मका सुझाव कार्यदलले दिएको छ । 

मानिस र वन्यजन्तुको सहअस्तित्व कायम रहनुपर्ने र बढ्दै गएको बाँदरको सङ्ख्यालाई सरकारले वैज्ञानिक तरिकाले व्यवस्थापन गरी किसानहरूलाई राहत प्रदान गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ । 

प्राविधिक  कार्यदलका संयोजक एवम् वन्यजन्तु संरक्षण अभियान्ता होम क्षेत्रीले बाँदर, हात्ती, बँदेल, दुम्सी, नीलगाईलगायतका वन्यजन्तुको समयमै व्यवस्थापन गर्न सरकारले वेलैमा ध्यान नदिए भविष्यमा ठूलो समस्या ल्याउने बताउनुभयो ।  

बैठकमा मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले सरकारले वन्यजन्तु पीडितलाई क्षतिपूर्ति दिँदै आएको जानकारी गराउँदै निरन्तर कानून बदलेर वन्यजन्तुको आक्रमणबाट मानिसलाई जोगाउने प्रयत्नमा सरकार लागि परेको बताउनुभयो । 

बैठकमा सांसदहरुले  छाडा पशुचौपाया नियन्त्रण गर्न र कृषि हानिकारक वन्यजन्तु व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button