मुगुमा २३ प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमाको पहुँचमा
मुगु । मुगुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा जिल्लाका ७७ प्रतिशत नागरिक अझै स्वास्थ्य बीमाको पहुँचबाहिर रहेका छन्। स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय गमगढी, मुगुको तथ्याङ्कअनुसार जिल्लाका २३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्।

२०७८ सालको जनगणनाअनुसार मुगुको कुल जनसङ्ख्या ६६ हजार ६ सय ५८ रहेकोमा १५ हजार १०३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय मुगुले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डको निर्देशिकाअनुसार पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने व्यवस्था छ। परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा थप प्रत्येक सदस्यका लागि सात सय रुपैयाँका दरले प्रिमियम तिर्नुपर्ने प्रावधान रहेको जिल्ला संयोजक शाहीले बताउनुभयो।
स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको प्रिमियम सरकारले नै तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था छ। पाँच जनासम्मको परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्म र पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था रहेको शाहीले बताउनुभयो।
नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले जनचेतनाको कमी, गरिबी तथा स्वास्थ्य बीमाको महत्त्वबारे पर्याप्त जानकारी नहुँदा धेरै नागरिक अझै कार्यक्रममा आबद्ध हुन नसकेको बताउनुभयो। आर्थिक अभावका कारण कतिपय परिवारले स्वास्थ्य बीमाको शुल्कसमेत तिर्न नसकेको उहाँले बताउनुभयो।
नेपालको संविधान, २०७२ को धारा ३५ ले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको भए पनि हिमाली तथा दुर्गम क्षेत्रका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको नेपाल पत्रकार महासङ्घ मुगु शाखाका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले बताउनुभयो।
नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०७२र७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो। मुगुमा भने २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले जनाएको छ।
मुगुमा स्वास्थ्य बिमामा आबद्ध नागरिकले विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालबाट बीमा सुविधा लिन पाउने व्यवस्था गरिएको छ। जिल्ला अस्पताल मुगुका अनुसार दैनिक ५० देखि एक सय जनासम्म बीमित उपचारका लागि अस्पताल आउने गरेका छन्।
तर, बीमा सुविधा लिएर उपचार गर्न आउने नागरिकले बीमा पोलिसीअनुसार सरकारले तोकेका सबै औषधि सहज रूपमा नपाउने गुनासो गरेका छन्। छायानाथ रारा नगरपालिका–६ का अमरबहादुर कार्कीले जिल्ला अस्पतालमा उपचार गर्न आउँदा बीमा पोलिसीअनुसार सरकारले तोकेका औषधि नपाउने गरेको गुनासो गर्नुभयो।
जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा। निर्मल नगरकोटीका अनुसार जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा विस्तार हुन नसक्दा बिमामा आबद्ध हुने नागरिकको सङ्ख्या कम छ। बीमा कार्यक्रममा आबद्ध नागरिकको सङ्ख्या कम भएका जिल्लामा स्वास्थ्य बीमा बोर्डले औषधि खरिदका लागि पर्याप्त रकम उपलब्ध नगराउने भएकाले अस्पतालले त्यस्ता औषधि खरिद गर्न नसकेको उहाँले बताउनुभयो।
अस्पतालले सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि भने बीमितलाई उपलब्ध गराउँदै आएको डा. नगरकोटीले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्