तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा आलु उत्पादन बढे पनि बजार नपाउँदा किसान चिन्तित

असार–साउनमा खनेको आलु भदौसम्म पनि बिक्री नहुँदा घरमै कुहिने चिन्ता

बैतडी । बैतडीमा आलु उत्पादन बढे पनि उचित बजार नपाउँदा किसान चिन्तित बनेका छन्। असार–साउनमा खनेर घरमा भण्डारण गरेको आलु भदौसम्म पनि बिक्री हुन नसक्दा किसान समस्यामा परेका हुन्।

पाटन नगरपालिका–८ का किसान नरबहादुर बिष्टले हालसम्म पनि आलु बिक्री हुन नसक्दा उत्पादित आलु घरमै कुहिने अवस्थामा पुगेको बताउनुभयो। असार–साउनमा खनेर घरमा जम्मा गरी राखेको आलु अहिलेसम्म बिक्री नभएको उहाँले बताउनुभयो।

बैतडीबाट उत्पादित आलु विगतमा तराईका जिल्लामा समेत निर्यात हुँदै आएको थियो। गत वर्ष किसानले आलु प्रतिकिलो ४० देखि ४५ रुपैयाँसम्ममा बिक्री गरेका थिए। तर, यस वर्ष प्रतिकिलो २५ देखि ३० रुपैयाँमै बिक्री गर्नुपर्ने अवस्था रहेको किसान बताउँछन्। सोही मूल्यमा समेत आलु बिक्री हुन नसकेको पाटन नगरपालिका–८ का किसान राजबहादुर महराले दुखेसो गर्नुभयो।

उचित मूल्य नपाउनुका साथै यातायातको सहज पहुँच नहुँदा आलु घरमै थन्किएको सुर्नया गाउँपालिका–६ का किसान गणेश अवस्थीले बताउनुभयो। उत्पादन गरेको आलु बजारसम्म पु¥याउन समस्या हुँदा किसानले सस्तो मूल्यमा समेत बिक्री गर्न नसकेको उहाँको भनाइ छ।

आलु भण्डारणका लागि पाटन नगरपालिका–८ मा निर्माण प्रक्रिया अघि बढाइएका दुईवटा कोल्ड स्टोरसमेत अलपत्र अवस्थामा छन्। कोल्ड स्टोर सञ्चालनमा आए किसानलाई आलु भण्डारण गर्न सहज हुने स्थानीय किसान वीरसिंह महराले बताउनुभयो।

कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यस क्षेत्रमा निर्माण गरिएका कोल्ड स्टोर सञ्चालनमा ल्याउन समस्या भइरहेको छ। विगतमा निर्माण भएका संरचनालाई सञ्चालनमा ल्याउन सरोकारवाला पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो।

तरकारी पकेट क्षेत्रमा करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका संरचना प्रयोगविहीन हुँदा किसानले उत्पादनको उचित लाभ लिन सकेका छैनन्। निर्माण भएका कोल्ड स्टोरलगायतका संरचना सञ्चालनमा ल्याई बजार व्यवस्थापन र यातायातको पहुँच सहज बनाउन राज्य पक्षले चासो दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button