तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकामा लगानी नै राष्ट्रको सुखद भविष्यको आधार: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ ।    

राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत् तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।”    

 यस वर्ष ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।    

 नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभावरहित, सर्वोत्तम हित, जीवन–बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । ती मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक), राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा सुदृढ ढङ्गले सुनिश्चित गरेको प्रधानमन्त्रीले बताउनुभएको छ ।    

 “अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व बहन आवश्यक छ,” प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।    

 त्यस्तै, सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउने प्रदेशले समन्वय र सेवाको विस्तार गर्नेछ स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहको प्रयासलाई एउटै परिणाममुखी दिशामा जोड्न आवश्यक छ”, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button