विदेशस्थित नेपाली नियोगहरूमा आफ्नै भवन निर्माणको कार्य अघि बढाएको परराष्ट्रमन्त्रीद्वारा जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताउनुभयो ।
मन्त्री खनालले विदेशमा भवन निर्माण गर्दा त्यहाँको कानुनी जटिलता र स्थानीय परामर्शदाता नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनअनुसार कार्यविधि बनाएर काम अगाडि बढाएको बताउनुभयो ।
इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा र बेइजिङ लगायतका स्थानमा नेपाल सरकारको नाममा जग्गा भएपनि हालसम्म भवन बन्न नसकेको बताउँदै मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूको घर भाडाका लागि मात्रै गत आर्थिक वर्षमा करिब १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।
मन्त्री खनालले अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा आफ्नै जग्गा रहेका स्थानमा दूतावासका भवन बनाउन प्रक्रिया अगाडी बढाइको र परामर्शदाता नियुक्त गरी निर्माण व्यवसायी छनोटको काम भइरहेको बताउनुभयो ।
मन्त्री खनालले क्यानबेरा दूतावासका लागि ५० करोड, रियादका लागि १९ करोड र बैंककका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको समेत सभामा जानकारी गराउनुभयो ।
मन्त्री खनालले विदेशी नियोगहरूमा स्वीकृत ३ सय ७४ स्थानीय कर्मचारीको दरबन्दीमध्ये हाल १ सय २६ जना विदेशी र १ सय ८५ जना नेपाली गरी ३ सय ११ जना कार्यरत रहेको जानकारी गराउँदै गत आर्थिक वर्षमा उनीहरूका लागि ९१ करोड रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।
मन्त्री खनालले अवैधानिक बाटोबाट विदेश जाने नागरिकहरूको उद्धार गर्न निकै जटिलता हुने गरे पनि १५ करोड रुपैयाँको कोषमार्फत पछिल्लो समय कम्बोडियाबाट मात्रै ८ सय ६० जना नेपालीको उद्धार गरिएको बताउनुभयो ।
यस्तै, परराष्ट्रमन्त्री खनालले कम्बोडियामा उपचारका क्रममा निधन भएका सन्तोष राईको शव नेपाल ल्याउन आठ हजार अमेरिकी डलर लाग्ने र त्यसको प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्