डुडुवा गाउँपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, अधिकांश सूचकमा ९० प्रतिशतभन्दा बढी प्रगति
बाँके।डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा सम्पादन गरेका एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको समीक्षा कार्यक्रममा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट वर्षभरि प्रवाह गरिएका स्वास्थ्य सेवा तथा सञ्चालन गरिएका कार्यक्रमको प्रगति, उपलब्धि, समस्या, चुनौती र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको हो।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य संस्थाले प्रदान गरेका सेवाको अवस्था, सेवा प्रवाहको गुणस्तर, लक्षित स्वास्थ्य कार्यक्रमको प्रगति, स्वास्थ्य सूचकको अवस्था तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले जानकारी दिनुभयो।
समीक्षाका क्रममा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा खोप, परिवार नियोजन, पोषण, क्षयरोग, नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, महिला स्वास्थ्य, किशोरकिशोरी स्वास्थ्य, सरसफाइ तथा स्वास्थ्य प्रवर्द्धनलगायत कार्यक्रमको प्रगति प्रस्तुत गरिएको थियो।
पालिकाअन्तर्गतका छवटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिले वर्षभरि सम्पादन गरेका गतिविधि, सेवाग्राहीको अवस्था, हासिल भएका उपलब्धि तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।
पालिकाले निर्धारण गरेको लक्ष्यअनुसार अधिकांश स्वास्थ्य कार्यक्रममा ९० प्रतिशतभन्दा बढी कभरेज हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य संस्थाबीच समन्वय, नियमित अनुगमन तथा तथ्यमा आधारित योजना निर्माणलाई प्राथमिकता दिँदै आगामी वर्ष स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने रणनीति तय गरिएको शाखा प्रमुख चौधरीले बताउनुभयो।
समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने र लक्षित वर्गसम्म स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्याउने विषयमा विशेष जोड दिइएको थियो।
गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले डुडुवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर रणनीतिक रूपमा काम गर्दै आएको बताउनुभयो। उहाँले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तरीय र प्रभावकारी बनाउँदै लगिएको उल्लेख गर्नुभयो।
यसैबीच, वर्षभरि स्वास्थ्य सेवा प्रवाह तथा कार्यसम्पादनका आधारमा होलिया स्वास्थ्य चौकी प्रथम, बनकट्टी स्वास्थ्य चौकी दोस्रो र बेतहनी स्वास्थ्य चौकी तेस्रो भएका छन्। विभिन्न स्वास्थ्य सूचकमा हासिल गरेको प्रगतिका आधारमा उत्कृष्ट घोषित स्वास्थ्य चौकीलाई कार्यक्रममा सम्मान गरिएको स्वास्थ्य शाखाका वीरेन्द्र घलेले जानकारी दिनुभयो।
समीक्षा कार्यक्रममा विगत वर्षका उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरी आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। सहभागीले स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरणको नियमित उपलब्धता, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रमलाई निरन्तरता, अभिलेख व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रमुख र स्वास्थ्यकर्मीको सहभागिता थियो।
स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रमले स्वास्थ्य क्षेत्रका उपलब्धि र कमजोरी पहिचान गर्दै आगामी वर्षका कार्यक्रमलाई तथ्य, आवश्यकता र प्राथमिकताका आधारमा अघि बढाउन महत्वपूर्ण आधार तयार गरेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्