अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता दिने तयारी
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता सेवा उपलब्ध गराउने तयारी थालेको छ। जिल्ला सदरमुकामसम्म आउजाउ गर्न असहज हुने नागरिकलाई लक्षित गर्दै प्रशासनले घरदैलोमै पुगेर नागरिकता प्रदान गर्ने तयारी गरेको हो।
हिँडडुल गर्न असहज भएका तथा जिल्ला प्रशासन कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त र अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जानकारी दिनुभयो। नागरिकलाई सेवा लिनकै लागि सदरमुकामसम्म आउनुपर्ने बाध्यता हटाउँदै सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो।
सेवा सञ्चालनका लागि जिल्लाका स्थानीय तहसँग समन्वय गरी लक्षित नागरिकको विवरण सङ्कलन गर्न थालिएको छ। अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण पठाउन प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।
स्थानीय तहबाट प्राप्त विवरणका आधारमा नागरिकता लिन आवश्यक प्रक्रिया पूरा गरी प्रशासनको टोली सम्बन्धित नागरिकको घरमै पुगेर सेवा दिने तयारी गरिएको छ। यसबाट विशेषगरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा कार्यालयसम्म पुग्न असहज हुने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यस सेवामार्फत नागरिकता प्राप्त गर्नबाट वञ्चित वा सेवा लिन कठिनाइ भइरहेका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सहज पहुँच स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्