तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौँ I नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानडाको क्यालगरीमा निधन भएको छ।

उहाँले सिद्धार्थ वनस्थली स्कुलको प्रिन्सिपलबाट आफ्नो सेवा यात्रा सुरु गर्नुभएको थियो। वि. सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर सेवा गर्नुभएका प्राध्यापक  धौभडेले कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलको क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायको सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो।

नियमित सेवाबाट निवृत्त भएपछि पनि तपाईँले वि. सं. २०६८ सम्म विभिन्न शैक्षिक संस्थाहरूमा परामर्शदाताका रूपमा सेवा प्रदान गर्नुभएको थियो।

वामपन्थी विचारका धौभडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो। नेपाल प्राध्यापक संघ र पेशागत महासङ्घको अध्यक्ष रहनुभएका उहाँले २०४६ को जनआन्दोलनमा प्राध्यापकहरूको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाे थियाे।

२०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य रहनुभएका धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो।

उहाँ ‘सेतो गुराँस’ का संस्थापक हुनुहुन्थ्यो भने मानव अधिकार, नेपाल दृष्टिविहीन कल्याण संघ, बहिरा महासङ्घ तथा अपाङ्ग महासंघजस्ता अनेकौँ सामाजिक सङ्घ-संस्थाहरूमा सक्रिय रूपमा आवद्ध हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button