प्रचारको पर्खाइमा पर्वतका प्राकृतिक उपहार
पर्वत । पर्वत प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक विविधता र ग्रामीण जीवनशैलीका कारण पर्यटनको राम्रो सम्भावना बोकेको जिल्ला हो । यहाँका अग्ला पहाड, हिमशृङ्खलाको दृश्य, गुराँसे वन, शान्त वातावरण र ग्रामीण बस्तीले पर्यटकलाई आकर्षित गर्न सक्ने प्रशस्त आधार छन्, तर सम्भावना हुँदाहुँदै पनि जिल्लाका धेरै पर्यटकीय गन्तव्य आवश्यक प्रचार–प्रसार र पूर्वाधारको अभावमा अझै ओझेलमै छन् ।

कुश्मा नगरपालिकामा पर्ने पञ्चासेको लेक, फलेवास नगरपालिकाको डहरे देउराली, जलजला गाउँपालिकाको हाम्पालको लेक लगायतका क्षेत्र यसको उदाहरण हुन् । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइसम्म फैलिएका यी क्षेत्र प्राकृतिक सौन्दर्यका दृष्टिले निकै आकर्षक छन् । यहाँबाट पर्वतसँगै आसपासका आधा दर्जनभन्दा बढी जिल्लाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
विशेषगरी गुराँस फुल्ने समयमा यी क्षेत्रको सौन्दर्य झनै मनमोहक देखिन्छ । जलजलाको हाम्पाल क्षेत्रमा सुन्दर डाँडाकाँडा र गुराँसका वनले पर्यटकलाई लोभ्याउन सक्छन् । पञ्चासे र डहरे देउराली पनि प्राकृतिक दृश्यावलोकन, पदयात्रा, ध्यान तथा योगका लागि उपयुक्त गन्तव्य बन्न सक्छन् ।

पर्वतको कुश्मा बजारबाट हाम्पाल, पञ्चासे र डहरे देउरालीसम्म सडकमार्फत करिब डेढदेखि दुई घण्टाको अवधिमा पुग्न सकिन्छ । तर यी गन्तव्यको वास्तविक आकर्षण सडक यात्राभन्दा ग्रामीण परिवेश, हरियाली, स्थानीय बस्ती र प्रकृतिसँग नजिकिँदै गरिने पैदल यात्रामा अझ बढी भेटिन्छ । त्यसैले यहाँ पदमार्गको विकास र व्यवस्थित पर्यटन गतिविधि सञ्चालन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्न सक्ने सम्भावना छ ।
प्रचारमा स्थानीय तहको प्राथमिकता कमजोर
पर्यटकीय सम्भावना भएका क्षेत्रको विकास र प्रचारमा स्थानीय तहले केही प्रयास भने गरेका छन् । जलजला गाउँपालिकाले हम्पाल क्षेत्रको प्रचार–प्रसारका लागि अघिल्लो वर्ष एक वर्षे कालाञ्जर महायज्ञ समेत आयोजना गरेको थियो । हाम्पालमा खोज तथा अनुसन्धानका लागि प्रयोगशाला भवन निर्माण गर्ने योजना पनि अघि सारिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य बताउनुहुन्छ ।

त्यस्तै मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने फलाटे, भमरकोट लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष विमल लामिछाने बताउनुहुन्छ ।
तर स्थानीय तहका छुट्टाछुट्टै प्रयासले मात्र जिल्लाको समग्र पर्यटन प्रवद्र्धन हुन सक्दैन । पञ्चासे क्षेत्र कुश्मा नगरपालिका र मोदी गाउँपालिकासँग जोडिएकाले दुवै पालिकाबिच साझा योजना बनाएर पर्यटन विकास गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैगरी डहरे देउरालीको सम्भावनालाई फलेवास नगरपालिकाले पनि योजनाबद्ध रूपमा उपयोग गर्न सकेको छैन ।
योग, ध्यान र होमस्टेको गन्तव्य बन्न सक्छ
पर्वतका उच्च पहाडी क्षेत्रलाई केवल दृश्यावलोकन गर्ने ठाउँका रूपमा मात्र नभई योग, ध्यान, पदयात्रा र प्रकृतिमा रमाउने पर्यटकका लागि विशेष गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

शान्त वातावरण र प्रदूषणरहित प्राकृतिक परिवेश भएका कारण हाम्पाल, पञ्चासे र डहरे देउरालीमा ध्यान तथा योग केन्द्र स्थापना गर्न सकिन्छ । स्थानीय मौलिकता झल्कने होमस्टे सञ्चालन, स्थानीय परिकारको प्रवद्र्धन, पदमार्ग निर्माण, विश्रामस्थल, सूचना केन्द्र र आधारभूत पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।
अहिले धेरै पर्यटक गन्तव्य हेर्न आएर छोटो समयमै फर्किने अवस्था छ । उनीहरूलाई कम्तीमा एक–दुई रात स्थानीय क्षेत्रमा बस्ने वातावरण बनाउन सके पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्छ ।
तीन तहका सरकारबीच सहकार्य आवश्यक
पर्वतका यस्ता गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्थानीय तहको प्रयास मात्र पर्याप्त हुँदैन । स्थानीय तह, गण्डकी प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन पर्यटन योजना बनाउन आवश्यक छ ।
स्थानीय तहले गन्तव्य पहिचान, पदमार्ग, होमस्टे, सरसफाइ, खानेपानी, शौचालय, विश्रामस्थल र स्थानीय पर्यटन व्यवसायलाई प्राथमिकता दिनुपर्छ । प्रदेश सरकारले सडक तथा पदमार्गको स्तरोन्नति, पर्यटन पूर्वाधार र प्रचार सामग्री निर्माणमा सहयोग गर्न सक्छ । संघीय सरकारले राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा यस्ता क्षेत्रको ब्रान्डिङ, डिजिटल प्रचार, पर्यटन प्याकेज निर्माण र अन्तर्राष्ट्रिय बजारसम्म प्रचार गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।

त्यस्तै पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, स्थानीय समुदाय, सञ्चारमाध्यम र निजी क्षेत्रलाई समेत अभियानमा जोड्नुपर्छ । प्रत्येक गन्तव्यको छुट्टै परिचय, वेबसाइट तथा सामाजिक सञ्जाल सामग्री, वृत्तचित्र, प्रचारात्मक भिडियो, नक्सा र सूचना सामग्री तयार गर्न सकिन्छ ।
एउटै पर्यटन प्याकेजमा जोड्न सकिन्छ
पर्वतका पर्यटकीय गन्तव्यलाई छुट्टाछुट्टै प्रचार गर्नुको सट्टा एउटै “पर्वत पर्यटन सर्किट” का रूपमा विकास गर्न सकिन्छ । कुश्माको साहसिक पर्यटन, पञ्चासे र हम्पालको पदयात्रा तथा प्राकृतिक पर्यटन, डहरे देउरालीको दृश्यावलोकन, ग्रामीण होमस्टे, धार्मिक तथा सांस्कृतिक स्थललाई एउटै प्याकेजमा जोड्न सके पर्यटकलाई लामो समय पर्वतमा राख्न सकिन्छ ।
पर्वतको पर्यटन विकासका लागि अब नयाँ गन्तव्य खोज्नुभन्दा पनि भएका गन्तव्यलाई चिनाउने, संरक्षण गर्ने र व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रभावकारी प्रचार गर्न सके अहिले ओझेलमा रहेका यी डाँडाकाँडा पर्वतको पर्यटनका प्रमुख आधार बन्न सक्छन् ।
सरकारले पर्यटनमार्फत मुलुकलाई समृद्धिको बाटोमा लैजाने लक्ष्य लिएको छ । त्यसका लागि पर्यटकीय सम्भावना भएका स्थानीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्मको साझा प्रतिबद्धता आवश्यक छ । प्रकृतिले दिएको अनुपम सम्पदालाई योजनाबद्ध ढंगले उपयोग गर्न सके पर्वत गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय जिल्लामध्ये एक बन्ने सम्भावना बोकेर बसेको छ ।








प्रतिक्रिया राख्नुहोस्