राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने
काठमाडौँ । सानै उमेरदेखि प्रतिभावान् खेलाडीलाई फुटबलको मुलधारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
देशभरका गरि कुल ३०० भन्दा बढी स्कुलका टिमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्टस च्याम्पियनसिप अन्तर विद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता दुई चरणमा गरि सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिप्राप्त प्रतियोगिताको पहिलो चरणमा प्रदेश स्तरको प्रतियोगिता हुनेछ । यही भदौ २५ गतेबाट कर्णालीबाहेक बाँकी ६ प्रदेशमा प्रदेश स्तरका प्रतियोगिताहरू हुनेछन् । जसअन्तर्गत कोशी प्रदेशको विराटनगरमा छात्र तथा इटहरीमा छात्राको प्रतियोगिता हुने छ । मधेशको लालबन्दी र सिमरामा छात्र तथा रौतहटमा छात्राको प्रतिस्पर्धा गराइने आयोजकले जानकारी गरायो ।
त्यस्तै बागमतीको प्रतियोगिता काठमाडौँ र चितवनमा हुनेछ । छात्रको प्रतिस्पर्धा काठमाडौँ र चितवन दुवैतर्फ गरिने योजना छ भने छात्राको काठमाडौँमा मात्र गरिनेछ । गण्डकी प्रदेशमा छात्रको स्पर्धा पोखरा तथा छात्राको गोर्खामा हुने कार्यक्रम छ भने लुम्बिनीको घोराही र नेपालगञ्जमा छात्र तथा बुटवलमा छात्राको प्रतियोगिता हुनेछ । यसैगरी सुदूरपश्चिमको धनगढीमै छात्र तथा छात्रा दुवैतर्फको प्रतियोगिता गराइनेछ ।
सबै प्रदेशको प्रतिस्पर्धाबाट छानिएका छात्र र छात्रा दुवैतर्फ समान ६ टोलीले दोस्रो चरणमा राष्ट्रिय च्याम्पियनसिप खेल्नेछन् । राष्ट्रिय च्याम्पियनसिपको छात्र र छात्रा दुवै फाइनल असोज १६गते हुनेछ ।
आयोजकले यस प्रतियोगितामा जति गोल हुन्छन्, त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने वातावरणमैत्री कार्यक्रम पनि राखेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्