तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा पहिरो अपडेटः ५ जनाको मृत्यु, ८ जना बेपत्ता, २ जना घाइते बुटवल पठाइयो

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवाअन्तर्गत पर्ने कोटलबारामा पहिरोमा परी ५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ८ जना अझै सम्पर्क विहीन छन् । पहिरोमा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने पहिरोमा हाल सम्म १५ जना परेका छन् ।

बुधबार राति परेको अविरल वर्षासँगै आएको लेदो, ठूला ढुङ्गा तथा मुढासहितको पहिरोले कोटलबाराको बस्तीका ९ वटा घर, १ वटा घुम्ती किराना पसल, २ वटा गोठ, १ वटा चर्च गरी १२ वटा पुरेर बगाउँदा ठूलो मानवीय क्षति भएको हो ।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर  रहेको घटनास्थलमा खटिनुभएका रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी गराउनुभयो ।

त्यसैगरी पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएकोले थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी ९ जना अझै बेपत्ता रहेका छन्  बेपत्ता हुनेमा ३८ वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६१ वर्षीय लिल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन् ।

घटनापछि प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोली खोज तथा उद्धारमा खटिएको अवस्था छ ।

पहिरो गएको समयदेखि नै घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको र बेपत्ता भएकाहरूको खोजी भइरहेको प्युठानको माडीखोलाको विभिन्न ठाउँमा ५ जनाको बेवारिसे सव समेत फेला परेकोले उवाको कोटलबारा गाउँका पहिरोमा बेपत्ता भएका मानिस हुन सक्ने आशङ्का गरिएको र पुष्टि हुन बाकी रहेको   प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button