आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथिको विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले प्रस्तुत गर्नुभएको आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयकमाथिको विचार गरियोस् प्रस्ताव सभाले स्वीकृत गरेको हो ।
छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा कामहरू भइरहेको र करिब ६ महिना जतिमा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो ।
मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने, प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेको कारण पनि हवाई सुरक्षामा चुनौती खडा भएको देखिएको बताउनुभयो ।
मन्त्री पौडेलले विधेयकको आएपछि जहाज होल्डिङ हुने, समयमा उडान नभर्ने, यात्रुका सामान हराउने टुटफुट हुने जस्ता समस्याहरूलाई समाधान गर्ने र हवाई यातायातलाई अझ बढी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो ।
छलफलमा सांसदहरुले हवाई सेवालाई सुरक्षित बनाउनेगरी कानुन बनाउनुपर्नेमा जोड दिँदै आन्तरिक वायुसेवा सेवालाई सुरक्षित भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरुले संघीय संसद् सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १ गते सोमबार १ बजेर १५ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्