४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिँदै उडान परियोजना

काठमाडौँ । नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना शुरु भएको छ ।
युवाहरूलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरू प्रदान गर्ने परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ ।
नेपाली युवाहरूको डिजिटल गतिशीलता र महत्त्वाकाङ्क्षालाई उजागर गर्न भन्दै शुरु गरिएको उडान परियोजनाको नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा सार्वजनिक गरियो ।
सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप प्राप्त गर्ने अपेक्षा लिइएको छ । यसैगरी, चार सय २० युवालाई उद्यम स्थापनामा सहायता तथा आठ सयलाई उच्च शिक्षा पछि निजी क्षेत्रमा प्रशिक्षार्थीका रुपमा रोजगारी प्रदान गरिनेछ ।
मधेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका १४ पालिकामा युवाहरूलाई अवसरसँग जोड्न इन्नोभेशन हब समेत स्थापना गरिनेछ । युवाहरूलाई डिजिटल अर्थतन्त्रसँग जोड्न देखिएका अवरोधहरू र नीतिगत विषयमा सुधारका लागि नीतिगत बहस समेत गर्ने उद्देश्य परियोजनाले लिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा युथ इनोभेसन ल्याबले आफ्ना साझेदारहरू हेफर प्रोजेक्ट नेपाल, नामी र विमेन इन एनिमेसनसँगको साझेदारीमा परियोजना अघि बढाउने छ ।
उडान अन्तर्गत सञ्चालन गरिने पाठशालाले युवाहरूलाई निःशुल्क रुपमा एआई, कोडिङ तथा एनिमेसनजस्ता सीपहरू निःशुल्क प्रदान गर्नेछ । कार्यशालाअन्तर्गत सातै प्रदेशमा युवाहरूका उद्यमशील सोचलाई उद्यममा बदल्ने उद्देश्यका साथ प्रदेश तथा राष्ट्रियस्तरमा ह्याकथन र उद्यमशीलता प्रवद्र्धन गर्न बुटक्याम्प आयोजना गरिनेछ ।
परियोजनाको अर्को अङ्ग कर्मशाला अन्तर्गत निजी क्षेत्रमा उच्च शिक्षापछि युवाहरूले प्रशिक्षार्थीका रुपमा रोजगारी र सीप निखार्ने अवसर पाउने छन् । यसैगरी, नीतिशालाअन्तर्गत परियोजनाले स्थानीय सरकारका पाठ्यक्रममा कोडिङ, एआईजस्ता प्राविधिक विषय समावेश गर्दै युवालक्षित प्राविधिक शिक्षामा योगदान दिएर नीतिगत सुधारमा पहल गर्नेछ ।
परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा खासगरी ग्रामीण क्षेत्रका युवाहरू अवसरबाट बञ्चित रहेको बताइन् । ‘अझै पनि काठमाडौँ उपत्यकाबाहिरका कम पहुँच भएकाहरू अवसरसँग जोडिन सकेका छैनन्,’ उनले भनिन्,‘जोखिममा रहेका समूहको अवस्था पनि उस्तै हो ।
दुर्भाग्यवश मैले प्रतिनिधित्व गर्ने देशको आधा जनसङ्ख्या ओगट्ने महिलाहरूको पनि अवस्था उस्तै छ ।’ उनले परियोजनाले कम अवसर पाएका युवाहरूलाई प्रविधिको ज्ञान दिँदै अवसरसँग जोड्न भूमिका खेल्ने विश्वास गरिन् ।
सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा युवाहरूले आफूलाई आवश्यक डिजिटल सीपमा सहभागी हुन इच्छा देखाएका थिए ।
परियोजनाको नेतृत्व गरिरहेको युथ इन्नोभेशन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले अवसरको अभाव नै युवाहरूका लागि मुख्य चुनौती रहेको भन्दै परियोजनाले युवाहरूलाई प्राविधिक हिसाबले दक्ष बनाउँदै अर्थतन्त्रमा समेत योगदान दिने गरी अवसरसँग जोड्ने लक्ष्य लिएको बताए । अवसर भएन भनेर मात्र भएन कसैले त केही गर्नु आवश्यक छ, उनले भने, त्यसैले हामी आफैँले नेतृत्व लिएर अघि बढेका हौँ ।
परियोजनाले अब देशैभर युवासमक्ष पुगेर उनीहरुलाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न गतिविधिहरू शुरु गर्ने कार्यक्रम निर्देशक गोमा कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्