तपाईँ सुन्दै हुनुहुन्छः

जैविक मल उत्पादन र प्रयोगसम्बन्धी समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले  रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरुले किसानहरुले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने हुँदा बिस्तारै जैविक मलको प्रयोगलाई बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सरकारले आफै प्राङ्गारिक मल उद्योग सञ्चालन गर्नुपर्ने, सरकारले प्रस्ताव हेरेर नभइ किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरुले कृषि प्रधान देशका किसानहरुले मल अभावको समस्याबाट मुक्ति पाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा माटो वैज्ञानिक रोशन बाबु ओझाले अन्नको भण्डार भनेर चिनिने तराइ क्षेत्रमा कार्बन संकट बढेर बोटबिरुवामा असर देखिएको बताउनुभयो । 

कृषिमा छुट्याएको झण्डै ७० प्रतिशत बजेट रासायनिक मल खरिदमा खर्च हुने हुँदा त्यो रकम जैविक मल उत्पादनको क्षेत्रमा लगानी गर्न माटो विज्ञ ओझाले सरकारलाई सुझाव दिनुभयो । 

त्यस्तै अर्का विज्ञ मदन पोखरेलले सरकारले जैविक मलका लागि जम्मा ३६ करोड रकम छुट्याएको र रासायनिक मल खरिदका लागि ३२ अर्ब बजेट छुयाएर प्राङ्गारिक मल उत्पादन र प्रयोगलाई निरुत्साहन गरेको भन्दै संसारबाट फेजआउट भइसकेको युरिया मलको माग नेपालमा मात्रै हुने गरेको बताउनुभयो । 

समितिका सभापति अशोककुमार चौधरीले प्रत्येक वर्ष किसानहरुले मल नपाउने समस्या हल गर्न वैकल्पिक मलको सम्भावनाबारे निरन्तर छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button