पोखरालाई डिजिटल हब बनाउछौः मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधि अर्थात् आइटीको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
युवा उद्यमी मञ्च पोखरा र पोखरा रिसर्च सेन्टरले आयोजना गरेको ‘डिजिटल उद्यमशीलता, रिमोट वर्क इकोसिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पाण्डेले बनेपाको आइटी पार्क भौतिक संरचनामै सीमित भएकाले अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्नुभयो। उहाँले पोखरालाई भवन निर्माणमा मात्र सीमित नराखी डिजिटल हबका रूपमा विकास गर्ने अवधारणामा सरकार अघि बढिरहेको बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले आइटी क्षेत्रको विकासका लागि गुणस्तरीय सडक, हवाई सेवा, नियमित विद्युत् आपूर्ति र तीव्र गतिको इन्टरनेट आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा पटक–पटक विद्युत् अवरुद्ध भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो अवस्थाको सुधारमा प्रदेश सरकार लागिपर्ने जानकारी दिनुभयो।
उहाँले निजी क्षेत्रलाई स्पष्ट योजना र प्रस्तावसहित सरकारसँग सहकार्य गर्न आग्रह गर्दै सार्वजनिक–निजी साझेदारी मोडलमा लगानी गर्न सरकार तयार रहेको बताउनुभयो। साथै, प्रदेश सरकारले कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधिसम्बन्धी नीति तथा कानुन निर्माणको प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी युवा उद्यमी र आइटी विज्ञहरूले गण्डकी प्रदेशको डिजिटल पूर्वाधारको अवस्था तथा सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए।








प्रतिक्रिया राख्नुहोस्