प्रतिनिधिसभाको बैठकबाट विभिन्न तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ र भुक्तानी फर्स्यौट (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यस्तै बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस्तै बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक २०८३ प्रस्तुत गर्नुभयो ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो ।
यसअघि बैठकमा सांसदहरुले मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धि नियन्त्रण, ग्यासको सहज आपूर्ति लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले जनताको आधारभूत आवश्यकता पुरा गर्नु सरकारको जिम्मेवारी भएको भन्दै बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने, बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिबाट प्रभावित देशैभरका नागरिकका लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले मौसम पूर्वानुमान महाशाखाले यही असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा र बाढीको सम्भावना भएको भनेर सचेत गराइरहेको अवस्थामा नागरिकलाई सुरक्षित राख्न सरकारको तयारीबारे प्रश्न गर्नुभयो ।
उहाँहरूले विपद् आएपछि उद्धार र राहत नभई पहिले नै पूर्वसूचना प्रणाली लगायतका व्यवस्था गरी समयमै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
चाडपर्वका बेला राजमार्गहरू थप व्यस्त हुने भएकाले समयमै जोखिमयुक्त सडकको मर्मत कार्य तीव्र बनाउनुपर्ने, भोटेकोशी बाढीमा बेपत्ताहरूको एक द्वार प्रणालीबाट सामूहिक मृत्यु घोषणा र द्रुत मृत्युदर्ता गर्नुपर्ने, अभिभावक गुमाएको बालबालिकाका लागि विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकको आकस्मिक समयमा सांसद पार्वती विकले सुर्खेतको चौकुनेका गोपीराम जैसीले फरुवाले हानेर श्रीमतीको हत्या गरेको र छोरीहरू पनि घाइते भएको जानकारी गराउँदै महिलाको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने र घाइतेको निशूल्क उपचार गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि असोज ८ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्