ग्याँसको आपूर्ति सहज गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्याँसको सहज रुपमा आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले बजारमा ग्याँस आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै सहज रूपमा ग्याँस उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसदहरूले जनताले घण्टौँ लाइन बस्दा समेत ग्याँसको नपाएर भोकै बस्नुपर्ने अवस्था आएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकारले ग्याँसको समस्या छैन भन्ने गरेको तर जनताले घण्टौँ लाइन बस्दा समेत ग्याँस नपाउने अवस्था रहेको भन्दै जनतालाई भोको बस्ने अवस्था आउन नदिन माग गर्नुभयो ।
सांसदहरुले मुलुकमा सामाजिक सद्भाव कायम, सङ्घीयताको सुदृढीकरण गर्न र निर्वाचनमा जनतासामु व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारको प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले महँगी नियन्त्रण, ग्याँसको सहज बिक्री वितरण, कालोबजारी अन्त्य र भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो ।
समाजमा पछिल्लो समयमा देखिएका आत्महत्याका घटना र जनताको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने, जनताको आशा र अपेक्षा पूरा गर्नेतर्फ सरकारले विशेष योजना ल्याउनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
भूमिसम्बन्धी समस्या समाधानमा पहलकदमी लिन सरकारलाई सुझाव दिँदै सांसदहरुले भूमिहीन र सुकुम्बासीलाई हाल बसोबास गरिरहेकै स्थानमा जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।
सांसदहरुले सरकार कोठा खाली छ भन्दै दलित समुदायका केही मानिसहरू माइतीघरमा धर्ना बसिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले सुनसरीको देवानगञ्जमा भएको घटना गम्भीर रहेको भन्दै न्यायिक समितिमार्फत घटनाका विषयमा निश्पष छानविन गरी दोषीलाई कारबाही गर्न र कुनै पनि जाती वा धर्मका नाममा हिंसा हुन नदिने गरी समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले सिरहाको गोल बजारमा आगजनीका कारण ठूलो आर्थिक क्षति भएको र नागरिकको जलेको घरको क्षतिपूर्ति दिन तथा नागरिकको आस्थाको धरोहर माथिको आक्रमण नदोहोरिने ग्यारेन्टी गर्न माग गर्नुभयो ।
सांसदहरुले खेलकुद क्षेत्रमा रहेको समस्या समाधान, अपाङ्गतामैत्री पूर्वाधार निर्माण खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्