तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम।बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ । निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ रहेकामा हालै गरिएको बाघ गणनाका क्रममा बाघको सङ्ख्या एकैपटक ३० वटा बढेको हो ।

निकुञ्जमा बाघको सङ्ख्या बढेपछि वन्यजन्तुप्रतिको नागरिकको सोच र आनीबानीमा परिवर्तन ल्याई मानव–बाघबीच सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले ‘बाघ मित्र’अभियानलाई विस्तार गर्ने तयारी गरिएको प्रमुख खतिवडाले बताउनुभयो ।

निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको निकुञ्ज प्रमुख खतिवडाको भनाइ छ । उहाँका अनुसार अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे जनचेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या पर्दा कसरी समाधान गर्ने, राहत प्राप्त गर्ने विधिबारे अन्तक्र्रिया तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको छ ।

“कहिलेकाहीँ आहारको खोजीमा बाघ जङ्गलबाट निस्किन्छ, बाघलाई देख्नेबित्तिकै मान्छेमा नकारात्मक सोच आइहाल्छ”, प्रमुख खतिवडाले भन्नुभयो, “त्यसैले बाघप्रति समुदायमा सकारात्मक सन्देश दिने र बाघबाट जोगिने विधिबारे सचेतना जगाउन अभियान चलाएका छौँ ।” बाघ हाम्रो शत्रु होइन, उसको पनि अस्तित्व हुन्छ, त्यही भएर बाघलाई देखाएर पर्यापर्यटन प्रवर्द्धन गर्न सकिन्छ भने सकारात्मक कुरा फैलाउन अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

जङ्गलमा डढेलो लगाउने, चोरी तस्करी गर्नेलगायतका नागरिकको आनीबानीका कारण वन्यजन्तुहरू जङ्गल बाहिर निस्किँदा मानव–वन्यजन्तुबीच द्वन्द्व हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button