तपाईँ सुन्दै हुनुहुन्छः

शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थ्यले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थ्यले लोकतन्त्रलाई प्राण दिने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अनलाइन खबर डटकमद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई प्राण दिने बताउनुभयो । “युवाहरू भोलिको मात्र होइन आजकै साझेदार, सर्जक र परिवर्तनकर्ता हुनुहुन्छ । यो कुरा तपाईँहरूले व्यवहारबाटै प्रमाणित गरिसक्नुभएको छ । हामीले युवालाई ‘देशको भविष्य’ भनेर मात्रै पुग्दैन । आजको अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति अहिले नै आवश्यक छ भन्ने म ठान्दछु ।  नयाँ पुस्तासँग ऊर्जा छ, प्रविधि छ, संसारसँग प्रत्यक्ष सम्पर्क छ । तर त्योभन्दा महत्वपूर्ण कुरा—प्रश्न गर्ने साहस छ ।”–उहाँले भन्नुभयो । 

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि पुर्खाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै अनुभवहरूबाट सिकेर अघि बढ्ने युवा चाहिएको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई नयाँ विचार दिने युवा, विज्ञानलाई जिज्ञासु युवा चाहिने स्पष्ट पार्नुभयो । उहाँले समाजलाई विभेद स्वीकार नगर्ने युवा चाहिने बताउनुभयो । 

राष्ट्रपति पौडेलले प्रविधि प्रयोग गर्न तर विवेकलाई प्रविधिको जिम्मा नछोड्न युवालाई आग्रह गर्नुभयो । “विश्वसँग प्रतिस्पर्धा गर्नुहोस्, तर आफ्नो समाजसँगको सम्बन्ध कहिल्यै नतोड्नुहोस् । देशलाई तपाईँहरूको प्रतिभा मात्र होइन, तपाईँहरूको इमानदारी पनि चाहिएको छ ।”

देशका गाउँ, शहर, विश्वविद्यालय, प्रयोगशाला, स्टार्टअप, खेत, अस्पताल, खेलमैदान, स्टुडियो र विदेशका विभिन्न कुनामा हजारौँ नेपाली युवा चुपचाप काम गरिरहेको बताउनुहुँदै राष्ट्रपति पौडेलले आज यहाँ ४० मुनीका ४० मा छनौट नभएका ती सम्पूर्ण युवाको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै यस्ता पारदर्शी, समावेशी र विविधताको मर्म अनुरूपका छनोट विधिले अवसर नपाएका, मूल प्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेका युवासम्म दृष्टि पुर्‍याउने बताउनुभयो ।

राष्ट्रपति पौडेलले पछिल्ला वर्षहरूमा नेपालको सामाजिक र राजनीतिक बहसमा युवा पुस्ताको आवाज अझ स्पष्ट र प्रभावशाली रूपमा सुनिन थालेको भन्दै यो उपस्थितिलाई पुस्तान्तरणका रुपमा मात्रै नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा पनि विकास गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रको भविष्य कुनै एउटा भाषण, एउटा योजना वा एउटा पुस्ताले मात्र नबनाउने भन्दै भन्नुभयो –“हरेक पुस्ताले आफ्नो हिस्साको भविष्य निर्माण गर्छ । अब तपाईँहरूको पालो छ । एउटै आग्रह–आवेगको धनी हुनुहुन्छ, यसमा विवेक थप्न अझ मेहनत गरौँ ।”

उहाँले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गर्नुहुँदै यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्ने बताउनुभयो । “असहमति लोकतन्त्रको कमजोरी होइन: जिम्मेवार असहमति लोकतन्त्रको शक्ति हो । यही शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष्यमा पुर्‍याउँछ भन्ने मेरो बुझाई छ ।”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको बताउनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने उल्लेख गर्नुहुँदै लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन नहुने बताउनुभयो । “राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने म ठान्दछु ।”उहाँले भन्नुभयो यही दर्शनका लागि सङ्घर्ष गर्दागर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको म स्मरण गर्न चाहन्छु ।”

राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सूचना प्रवाहको प्रतिस्पर्धा गर्ने तीव्र होडबाजीले जनतालाई मिथ्या सूचना सम्प्रेषण गरेर दिग्भ्रमित पार्ने चुनौती देखिएको भन्दै अनलाइन खबरजस्ता जिम्मेवार सञ्चारमाध्यमहरूलाई यस्तो चुनौतीको सामना गरेर जनतासम्म सही सूचना पुर्‍याउने सफलता प्राप्त होस् भन्ने शुभकामना दिनुभयो । 

अनलाइन खबरले निरन्तर रूपमा ‘४० मुनिका ४०’ मार्फत विभिन्न भूगोल, समुदाय र क्षेत्रमा काम गरिरहेका युवाको खोजी, अभिलेखीकरण र सम्मान गर्दै आएको भन्नुहुँदै राष्ट्रपति पौडेलले यस प्रयासका लागि म अनलाइनखबर परिवारलाई धन्यवाद तथा सम्मानित सबै युवालाई बधाई समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button