‘अन्य दललाई गाली गरेर समय नबिताउनुहोस्’
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले देश एक्लैले बन्न नसक्ने बताउनुभएको छ । रुपन्देहीको भैरहवामा आज आयोजित पार्टीको कार्यक्रममा उहाँले देश बनाउन सबैको साथ चाहिने र त्यसको नेतृत्व रास्वपाले गरिरहेको बताउनुभयो ।

‘हामी जिम्मेवारीमा आएको ६ महिना पनि बितेको छैन, देश एक्लैले बन्दैन, २७५ जनाले पनि बन्दैन, देश बनाउन सबैको साथ चाहिन्छ । सबैको समन्वयले बन्ने हो देश’ उहाँले भन्नुभयो–‘अब स्थानीय तह प्रदेशको निर्वाचन आउँदै छ, त्यसमा रास्वपाले तपाईँहरूको साथ खोजेको छ । बल्ल आधा वर्ष मात्रै पुग्न थालेको छ । अझै साढे ४ वर्ष पूर्ण रुपमा साथ दिनुपर्ने छ । त्यसको लागि स्थानीय, जिल्ला तहबाटै काम अघि बढाउनुपर्ने छ । त्यसको समन्वय गर्ने स्थानीय तहमै रहेका नेता कार्यकर्ता र शुभेच्छुकहरूले गर्ने हो ।’
महामन्त्री आचार्यले पार्टीसँग जोडिएका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई पुराना दल र त्यसमा आवद्ध व्यक्तिलाई गाली गरेर नभई कामबाट जवाफ दिन आग्रह गर्नुभयो । उहाँले रास्वपामा आएकाहरू यसअघि कुनै दलमै भएकाले उहाँहरूको समेत मन दुख्ने गरी आलोचना नगरी पार्टीको नीति र सिद्धान्त अनि सरकारको अभियानलाई जनस्तरमा पुराउन निर्देशन दिनुभयो ।
महामन्त्री आचार्यले आफू सांसद समेत भएको र अरू धेरै जिम्मेवारी भएकाले कहिलेकाहीँ समयमा फोन नउठे त्यसलाई बाध्यताका रुपमा बुझ्न आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्