तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा एक वर्षमा २ शय २२ क्युफिट अवैध काठ बरामद

रौतहट । डिभिजन वन कार्यालय रौतहटले गत आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रबाट अवैध रूपमा कटान गरी तस्करी गरिँदै गरेको २२२ क्युफिट काठ बरामद गरेको छ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार जिल्लाका विभिन्न वन क्षेत्रबाट विभिन्न समयमा अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा सो परिमाणको काठ नियन्त्रणमा लिइएको हो।

सोही अवधिमा काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ। खुला सीमाका कारण रौतहटका विभिन्न वन क्षेत्रबाट काठ तस्करी हुने क्रम निरन्तर रहे पनि तस्कर पक्राउ पर्ने दर भने न्यून देखिएको छ।

वन कार्यालयका अनुसार वर्षभरिमा काठ तस्करीमा प्रयोग भएका पाँचवटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ। ती सवारी साधनलाई कानुनी प्रक्रिया बमोजिम नियन्त्रणमा राखी आवश्यक कारबाही चलाइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटमार्फत सार्वजनिक विवरणअनुसार वनसम्बन्धी कसुरबाट गत आर्थिक वर्षमा ५ लाख ९५ हजार २२५ राजस्व सङ्कलन भएको छ।

डिभिजन वन कार्यालयले वन तस्करी नियन्त्रणका लागि गस्ती, निगरानी र सुरक्षा निकायहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाइएको जनाएको छ। साथै वन क्षेत्रको संरक्षण एवं अवैध कटानी र तस्करी रोक्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कार्यालयको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button