कोलम्बियामा नवनिर्वाचित राष्ट्रपतिको ऊर्जा नीतिमा बदलावको सङ्केत
बोगोटा। कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले ऊर्जा क्षेत्रमा नयाँ नीति अघि बढाउने सङ्केत गर्नुभएको छ । उहाँले देशको तेल तथा ग्यास क्षेत्रलाई पुनर्जीवित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सरकारी स्वामित्वको ऊर्जा कम्पनी ‘इकोपेट्रोल’को पुनःसंरचना र विद्युत् प्रणाली सुदृढीकरणलाई पनि प्राथमिकता दिने उहाँले बताउनुभएको छ ।

पदभार ग्रहण समारोहमा बोल्दै उहाँले ऊर्जा सुरक्षा आफ्नो सरकारको प्रमुख प्राथमिकता हुने बताउनुभयो । कोलम्बियाले तेल, ग्यास र कोइलाबाट वायु तथा सौर्य ऊर्जाजस्ता स्वच्छ ऊर्जा स्रोततर्फको रूपान्तरणलाई निरन्तरता दिने उहाँले बताउनुभयो । तर त्यस क्रममा देशको तेल तथा ग्यास उद्योगलाई कमजोर नबनाइने उहाँले स्पष्ट पार्नुभयो ।
“म ऊर्जा रूपान्तरणमा विश्वास गर्छु । तर त्यो रूपान्तरण कमजोरीबाट होइन, बलियो आधारबाट र परनिर्भरताबाट होइन, आत्मनिर्भरताबाट हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँको भनाइले पूर्वराष्ट्रपति गुस्ताभो पेट्रोको ऊर्जा नीतिबाट महत्वपूर्ण परिवर्तनको सङ्केत गरेको छ । पेट्रो सरकारले नयाँ तेल तथा ग्यास अन्वेषण सम्झौता रोक्दै नवीकरणीय ऊर्जाको विस्तार र अमेजन संरक्षणलाई प्राथमिकता दिएको थियो ।
डे ला एस्प्रिएलाले राष्ट्रपतीय अभियानकै क्रममा तेल तथा ग्यास उत्पादन बढाउने र पेट्रो सरकारका ऊर्जा नीतिका केही प्रमुख पक्ष परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
ऊर्जा सुरक्षालाई ‘राष्ट्रिय सार्वभौमिकताको विषय’ भन्दै उहाँले प्राकृतिक स्रोतको विकास नगरी कोलम्बियाले दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।
अघिल्लो सरकारले इकोपेट्रोललाई कमजोर बनाएको आरोप लगाउँदै उहाँले कम्पनीको पुनर्निर्माणलाई आफ्नो सरकारको ‘निर्णायक र पूर्ण प्राथमिकता’ बनाउने बताउनुभयो । इकोपेट्रोल कोलम्बियाको बहुमत सरकारी स्वामित्व रहेको प्रमुख तेल कम्पनी हो । यो सरकारी राजस्व र निर्यात आम्दानीको महत्वपूर्ण स्रोतसमेत हो ।
घट्दो तेल तथा ग्यास भण्डारलाई पुनः विस्तार गर्न अन्वेषण गतिविधि बढाइने उहाँले बताउनुभयो । यसबाट ऊर्जा सुरक्षा सुनिश्चित गर्नुका साथै क्षेत्रमा पुनः लगानी आकर्षित गर्ने उहाँको भनाइ छ ।
घट्दो इन्धन भण्डार, ऊर्जा परियोजनामा भइरहेको ढिलाइ र बढ्दो विद्युत् मागका कारण देशको ऊर्जा प्रणाली ‘गम्भीर अवस्थामा’ रहेको उहाँले बताउनुभयो ।
आगामी ‘एल निनो’ मौसमी घटनाले लामो खडेरी निम्त्याउन सक्ने र त्यसबाट जलविद्युत् उत्पादन प्रभावित हुनसक्ने उहाँले बताउनुभयो । यस्तो जोखिम सामना गर्न तत्काल कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“एल निनो घटनाले हामीलाई पर्खने छैन । यसलाई पार गर्न तत्काल समाधान कार्यान्वयन गर्नु अत्यावश्यक छ,” उहाँले भन्नुभयो ।रासस/एपी






प्रतिक्रिया राख्नुहोस्