तपाईँ सुन्दै हुनुहुन्छः

‘फिफा अध्यक्ष इन्फान्टिनोप्रतिको आफ्नो अविश्वास अझै कायम’

काठमाडौँ । युरोपेली फुटबल महासङ्घ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ । 

इङ्लिस फुटबल एसोसिएसन (एफए) ले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको युइएफएले स्पष्ट पारेको छ ।

युइएफएले आवश्यक परे फिफा विश्वकपसहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको सङ्केत दिएको छ । 

निजी लगानीकर्तालाई विश्वकपजस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको यूईएफएको भनाइ छ । यी दुवै सर्त पूरा नभएकाले इन्फान्टिनोप्रतिको विश्वास फर्किन नसकेको उसले जनाएको छ ।

विवादको केन्द्रमा रहेको ‘फिफा फरवार्ड इन्टरप्राइजेज (एफएफई)’ योजनामार्फत पुरुष र महिला विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारिएको थियो । 

त्यसको समर्थन गरे प्रत्येक सदस्य सङ्घलाई ४० मिलियन अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइएको थियो । तर व्यापक विरोधपछि फिफाले प्रक्रिया सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो ।

इन्फान्टिनोविरुद्ध युरोपेली फुटबल उभिए पनि विश्व फुटबलमा भने उनी अझै बलियो देखिएका छन् । दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोन्मेबोल), अफ्रिकी फुटबल महासङ्घ (काफ), मेक्सिको र अर्जेन्टिनाका फुटबल सङ्घले सार्वजनिक रूपमा उनको समर्थन गरेका छन् ।

पोल्यान्डमा सेप्टेम्बर ५ देखि सुरु हुने फिफा यु २० महिला विश्वकपमा इंग्ल्यान्डसहित ६ युरोपेली टोली सहभागी हुनेछन् । त्यसअघि युइएफएले आफ्नो चेतावनीलाई व्यवहारमा उतार्छ वा कूटनीतिक प्रयासलाई निरन्तरता दिन्छ भन्ने विषय विश्व फुटबलको प्रमुख चासो बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button