तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ७० हजारभन्दा बढी बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो 

सुर्खेत । कर्णाली प्रदेशमा नवजात शिशुदेखि ५ वर्षमुनिका ७० हजारभन्दा बढी बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ (आयुर्वेदिक औषधी) खुवाइएको छ । 

बालबालिकाको स्वास्थ्य प्रवर्द्धनसँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०८२/०८३ को असोजदेखि असारसम्म कर्णालीका तीन जिल्लाका ७० हजार ५ सय ८ जना बालबालिकालाई खुवाइएको हो । 

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम फोकलपर्सन (कविराज निरीक्षक) पुष्पा आचार्यका अनुसार सबै भन्दा बढी सुर्खेतमा ६५ हजार ९२ जना बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । 

उहाँका अनुसार कर्णाली प्रदेशका तीन वटा आयुर्वेद स्वास्थ्य केन्द्रहरू मार्फत यो सेवा निःशुल्क उपलब्ध गराइएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक लक्ष्मीनारायण तिवारीले  स्वर्ण बिन्दु प्राशन कार्यक्रमले कर्णालीका बालबालिकामा रहेको कुपोषणको समस्या कम गर्न मद्दत पुग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँदै स्मरण शक्ति, एकाग्रता र बौद्धिक क्षमताको विकास गरेको पाइएको बताउनुभयो । 

हाल संघीय सरकारको सहयोगमा कर्णालीका दुई स्थान प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला तथा कर्णाली प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखमा ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सञ्चालन भइरहेको छ । 

प्राचीन आयुर्वेदिक विधिबाट तयार पारिने ‘स्वर्ण बिन्दु प्राशन’ बालबालिकालाई प्रत्येक महिनामा आउने ‘पुष्य नक्षत्र’ को दिन खुवाइने गरिन्छ । यसको कुनै साइड इफेक्ट नहुने र बालबालिकाको समग्र शारीरिक तथा मानसिक विकासका लागि उत्तम मानिने आयुर्वेद चिकित्सकहरूको विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button