तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले इलाम सहितका पहाडी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बोनम्यारो पिडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हामफालेर बेपत्ता श्रीमान् श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरुले कृषि मल, खाना पकाउने ग्याँस लगायत दैनिक उपभोग्य बस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य बस्तुको कृत्रिम अभाव हुन नदिन निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंसको उपचार सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।   

यसअघि आजपनि बैठकको सुरुमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्चाउन माग गर्दै उठेर विरोध जनाउनुभयो । 

सभामुख डोलप्रसाद अर्यालले समय दिनुभएपछि नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्चाउन माग गर्नुका साथै जनकपुरको ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेकोबारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो । 

त्यसपछि सभामुख अर्यालले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि यस विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो । 

यस्तै बैठकमा सांसद कृपाराम राना, युवराज दुलाल, ध्रुवराज राई र खुश्बु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्नुभयो । 

त्यस क्रममा सांसदहरुले तराई–मधेशमा हिन्दु र मुस्लिम समुदायबीच बढेको तनाव अन्त्यका लागि जिम्मेवार भएर लाग्न, बजारमा खाना पकाउने ग्यासको अभाव रहेको, विभिन्न सडक मार्गहरू अवरुद्ध रहेकोबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button