देशमा शान्ति–सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले सरकार शान्ति, सुरक्षा कायम गर्न निरन्तर लागिरहेको र देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको विषयमा चरणबद्ध रुपमा अनुसन्धान गरिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री गुरुङले बेरोजगारी र गरिबिका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबिच समन्वय गरेको काम गर्ने योजना बनाएको बताउनुभयो ।
मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुख पाएपनि सङ्घर्ष गर्नुपर्ने र हरेस खान नहुने भन्दै दुखलाई पनि अपनत्व गरेर बलका रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
युवा वर्गलाई खेलकुद लगायतका क्षेत्र, प्रविधिमा लगाउने गरी खेलकुद मन्त्रालयले पनि विभिन्न योजनाका साथ कामहरू अगाडि बढाएको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।
सांसद विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र न्याय नपाएको विषयमा गर्नुभएको प्रश्नमा भने गृहमन्त्री गुरुङले उत्तर दिन नचाहेको भन्दै सांसदहरूलाई सदनमा अब निर्मला पन्त प्रकरणका विषयमा प्रश्न नगर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्