बाजुरामा भदौ १५ अघि काँचो स्याउ नटिप्न पालिकाको आग्रह
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाले गुणस्तरीय स्याउ उत्पादन र स्थानीय उत्पादनको पहिचान जोगाउन भदौ १५ गतेअघि स्याउ नटिप्न किसान तथा व्यापारीलाई आग्रह गरेको छ।
गाउँपालिकाको कृषि विकास शाखाले बुधबार सूचना जारी गर्दै पर्याप्त नपाकेको काँचो स्याउ बजारमा बिक्री–वितरण हुन थालेपछि उपभोक्ताले गुणस्तरीय स्याउ नपाउने, स्थानीय उत्पादनप्रतिको विश्वास घट्ने तथा दीर्घकालीन रूपमा स्वामिकार्तिकको स्याउको बजारमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।
कृषि विकास शाखा र गाउँपालिकामा कार्यरत विभिन्न परियोजनाका प्राविधिक टोलीले रिफ्र्याक्टोमिटरमार्फत स्याउ परीक्षण गर्दा अधिकांश स्याउमा आवश्यक मिठास र गुणस्तर विकास नभएको पाइएको सूचनामा उल्लेख छ। त्यसैका आधारमा गाउँपालिकाले २०८३ साल भदौ १५ गतेपछि मात्रै स्याउ टिपेर बिक्री–वितरण गर्न निर्देशन दिएको हो।
गाउँपालिकाले तोकिएको समयअघि स्याउ टिपेर बिक्री–वितरण गरेको प्रमाणित भए सम्बन्धित किसान वा व्यापारीलाई प्रचलित कानुन तथा गाउँपालिकाको निर्णयअनुसार कृषि तथा अन्य सम्बन्धित सेवासुविधाबाट वञ्चित गर्न सकिने चेतावनी पनि दिएको छ।
साथै, किसान, व्यापारी तथा सरोकारवाला निकायलाई समयमै पाकेको, मिठासयुक्त र गुणस्तरीय स्याउ मात्र बजारमा ल्याउन सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले यस निर्णयले स्वामिकार्तिकको स्याउको गुणस्तर, बजारको विश्वसनीयता र उपभोक्ताको विश्वास अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्