तपाईँ सुन्दै हुनुहुन्छः

हर्मुज सम्झौता अन्तिम चरणमा

वासिङ्टन। अमेरिका, इरान र ओमानबीच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको छ । गत महिना अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीपत्र (एमओयु) विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौताको घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

प्रतिवेदनअनुसार प्रस्तावित व्यवस्थाले ६० दिनका लागि हर्मुज जलघाँटी हुँदै हुने समुद्री यातायात सञ्चालनको अन्तरिम ढाँचा तय गर्नेछ । यस अवधिमा खाडीभित्र प्रवेश गर्ने जहाजहरू इरानी जलक्षेत्रको उत्तरी जलमार्गबाट सञ्चालन हुनेछन् भने बाहिरिने जहाजहरूले इरानसँगको समन्वयमा ओमानी जलक्षेत्रको दक्षिणी मार्ग प्रयोग गर्ने व्यवस्था रहनेछ । यस अवधिभर कुनै पनि जहाजबाट टोल वा पारवहन शुल्क नलिने सहमति भएको जनाइएको छ ।

सम्झौतामा ३० दिनभित्र मध्य जलमार्गमा राखिएका नौसैनिक बारुदी सुरुङ हटाउने योजना पनि समावेश गरिएको छ । त्यसपछि उक्त मार्गलाई इरान र ओमानबीच हुने स्थायी व्यवस्थाअन्तर्गत दुवैतर्फका जहाज आवागमनका लागि प्रयोग गर्ने तयारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

एक्सियोसका अनुसार ह्वाइट हाउस, ओमान र अन्य क्षेत्रीय मध्यस्थकर्ताले करिब तीन साताअघि पनि यस्तै समझदारी भएको विश्वास गरेका थिए । तर त्यसपछि इरानले जहाजमाथि आक्रमण पुनः सुरु गरेको आरोप लागेपछि दुई सातासम्म तनाव बढ्दै क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको थियो ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रका साझेदार मुलुकसँग परामर्शपछि कूटनीतिक प्रयासलाई थप समय दिने निर्णय गर्दै इरानविरुद्ध तत्काल व्यापक सैन्य कारबाही नगर्ने निर्णय गर्नुभएको थियो । यद्यपि छिट्टै सहमति नभए सैन्य विकल्प खुला रहने चेतावनी पनि उहाँले दिनुभएको थियो ।

प्रतिवेदनका अनुसार वार्तामा ओमान र इरानसँगै कतार, पाकिस्तान र साउदी अरेबियाले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् भने ह्वाइट हाउस प्रत्यक्ष रूपमा संवाद प्रक्रियामा संलग्न रहेको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकोफले पछिल्ला दिनमा इरानी विदेशमन्त्री अब्बास अराघची र ओमानी विदेशमन्त्री बद्र अल–बुसाइदीसँग पटक–पटक छलफल गर्नुभएको एक्सियोसले जनाएको छ । दुई क्षेत्रीय स्रोतका अनुसार अराघचीले सप्ताहन्तमै प्रस्तावित व्यवस्थाप्रति सैद्धान्तिक सहमति जनाउनुभएको थियो, तर अन्तिम स्वीकृतिका लागि इरानका सर्वोच्च नेता मोजताबा खमेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अनुमोदन आवश्यक थियो ।

एक अमेरिकी अधिकारी र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोसले इरानको नेतृत्वले मङ्गलबार स्वीकृति प्रक्रिया पूरा गरेपछि सम्झौताको औपचारिक घोषणाको बाटो खुलेको जनाएको छ ।रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button