तपाईँ सुन्दै हुनुहुन्छः

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

ग्वाटेमाला सिटी। मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन् ।

ग्वाटेमालाको विपद् व्यवस्थापन निकाय कनरडका अनुसार जोखिम क्षेत्रमा रहेका आठ गाउँबाट हालसम्म ६५९ जनालाई उद्धार गरी नजिकैका आश्रयस्थलमा राखिएको छ । कार्यकारी सचिव क्लाउडिन ओगाल्डेसले अवस्था निरन्तर निगरानीमा रहेको बताउँदै दिनभरि करिब १० समुदायसम्मका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिनुभयो ।

कनरडका अनुसार उद्धार गरिएकामध्ये एल पोर्भेनिर र लास लाजितास बस्तीका करिब २५० जना पनि छन् । ज्वालामुखीबाट निस्किएको खरानी आसपासका सहरसम्म फैलिन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

सोमबार बिहान सुरु भएको विस्फोटका क्रममा ज्वालामुखीको ढलानबाट लावा र अत्यन्त तातो पाइरोक्लास्टिक पदार्थ बगेको तथा माथितर्फ ग्यास र खरानीको बाक्लो मुस्लो उडेको दृश्य सार्वजनिक भएका छन् ।

सुरक्षाका दृष्टिले ज्वालामुखी नजिकैबाट जाने प्रमुख राष्ट्रिय राजमार्ग–१४ बन्द गरिएको छ भने शिक्षा मन्त्रालयले आसपासका सहरका विद्यालयमा पठनपाठन स्थगित गरेको जनाएको छ ।

फुएगो ज्वालामुखी यसअघि सन् २०१८ मा पनि विनाशकारी रूपमा विस्फोट हुँदा सयौँ मानिसको ज्यान गएको थियो, धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका थिए र करिब १७ लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए । गत वर्ष जुन महिनामा भएको अर्को विस्फोटका बेला पनि पूर्वसावधानीस्वरूप स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button