कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्ष सहमत

धनगढी । कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्नका लागि सरोकारवाला सबै पक्ष सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय छलफलमा सरकारी तथा गैरसरकारी संस्था एवं निजी क्षेत्रका प्रतिनिधि, विभिन्न धर्मावलम्बी, जनप्रतिनिधि तथा सरोकारवाला सबै पक्षले शान्ति सुरक्षा एवं सामाजिक सद्भाव कायम राख्न सहमति जनाएका हुन् ।
शान्ति, सद्भाव कायम राख्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाईमा साउन १८ गते धनगढीमा नागरिक सद्भाव र्याली आयोजना गरिने र सहभागिताका लागी राजनीतिक दल तथा सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।
यस्तै, नेपाल-भारत सिमानाकामा सुरक्षा व्यवस्था मजबुद बनाउदै सिमानाकामा परिचयपत्र खुल्ने कागजात देखाएर मात्र नेपाल प्रवेश गर्न दिनेमा एकमत भएका छन् ।
छलफलमा सामाजिक सञ्जाल दुरुपयोग गरि धार्मिक आस्थामा आँच आउने गरि हुने गतिविधिलाई निरुत्साहित गर्ने/गराउने तथा एकले अर्का पक्षको धार्मिकतामा अवरोध नगर्ने र कानुन विपरीत कार्यमा सहभागी नहुने प्रतिबद्धता ब्यक्त गरिएको छ । जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले गठित अन्तर धार्मिक तथा सामाजिक सद्भाव समन्वय समितिलाई सक्रिय बनाउदै पालिकास्तरमा विस्तार गरेर लैजाने बताइएको छ ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सरोकारवाला पक्षको सहभागिता रहेको सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नु भयो । उहाँले पूर्वी तराईका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था थप सुदृढ पारिएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्