तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव कायम गर्न बाँकेमा सद्भाव र्‍याली निकालिने

बाँके । बाँके जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा शान्ति–सुरक्षा सुदृढ गर्न जिल्ला प्रशासन कार्यालयको पहलमा सरोकारवालाको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्दै सम्भावित अप्रिय घटना रोक्न सबै पक्षको सामूहिक पहल आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न जिल्लाका सबै सरोकारवालाको सहभागितामा भोलि शनिबार बिहान ७ः३० बजे नेपालगञ्जको बिपी चोकदेखि धम्बोझी (वीरेन्द्र चोक) सम्म सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सिरहामा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ। बैठकले ती घटनामा परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैठकले जिल्लामा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि हुन नदिन विशेष सतर्कता अपनाउने निर्णय गरेको छ। यस क्रममा विगतमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे तथा साउन्ड सिस्टम बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय भएकाले उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमारी तामाङले जानकारी दिनुभयो ।

यसैगरी, विभिन्न अवसरमा आयोजना हुने धार्मिक जुलुस तथा र्‍यालीमा हतियार प्रदर्शन गर्न पूर्णरूपमा निषेध गर्ने निर्णय गरिएको छ। परम्परागत रूपमा हतियार प्रदर्शन गर्ने प्रचलन रहेका स्थानमा समेत हतियारको वास्तविक प्रदर्शन नगरी प्रतीकात्मक रूपमा मात्र प्रस्तुत गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

बैठकले जिल्लाको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण वातावरणलाई थप सुदृढ बनाउन राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा, नागरिक समाज तथा आम नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button