स्थानीय युवाको श्रमदानबाट मुगुका दुई जीर्ण झोलुङ्गे पुलको मर्मत, आवागमन सहज

मुगु। मुगु जिल्लामा लामो समयदेखि जीर्ण अवस्थामा रहेका दुई वटा झोलुङ्गे पुल स्थानीय युवाको श्रमदानबाट मर्मत गरिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुका जिल्ला सभापति बृर्खबहादुर मल्ल तथा डा. उदय मल्लको नेतृत्वमा स्थानीय स्रोत जुटाई कार्यसमितिका पदाधिकारी, सदस्य र स्थानीयवासीको सक्रिय श्रमदानबाट पुल मर्मत गरिएको हो।

मर्मत गरिएका पुलमध्ये एक सोरु गाउँपालिका–६ र ९ लाई जोड्ने कुलाहाँस्थित झोलुङ्गे पुल हो भने अर्को छायाँनाथ रारा नगरपालिका–१ छत्यालवाडा र सदरमुकाम गमगढी जोड्ने हुलुमखोला झोलुङ्गे पुल हो।

लामो समयदेखि पुलका फल्याक, तार तथा अन्य संरचना जीर्ण बन्दै जाँदा स्थानीयले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो। श्रमदानमार्फत मर्मत सम्पन्न भएपछि विद्यार्थी, ज्येष्ठ नागरिक, किसान तथा सर्वसाधारणलाई सुरक्षित र सहज रूपमा आवागमन गर्न सुविधा पुगेको स्थानीयवासीले बताएका छन्।
कुलाहाँस्थित झोलुङ्गे पुल विसं २०४२ मा निर्माण गरिएको थियो। छत्यालवाडा–गमगढी जोड्ने हुलुमखोला झोलुङ्गे पुल भने करिब १५ वर्षअघि हेल्भेटास नेपालको सहयोगमा निर्माण गरिएको थियो।








प्रतिक्रिया राख्नुहोस्