तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी तटबन्धले बाँकेका राप्ती तटीय बस्तीमा बाढी र कटानको जोखिम घट्यो

बाँके। वर्षायाममा राप्ती नदीको बाढी, डुबान र कटानको त्रासमा रहने बाँकेका नदी तटीय क्षेत्रका बासिन्दालाई स्थायी तटबन्ध निर्माणपछि राहत मिल्न थालेको छ। राप्तीसोनारीदेखि नरैनापुर र डुडुवासम्मका बस्ती तथा सयौँ बिघा खेतीयोग्य जमिन बाढी र कटानको जोखिमबाट जोगिन थालेका छन्।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, लमही दाङले पश्चिम राप्ती नदीको तटीय क्षेत्रमा निर्माण गरेको स्थायी तटबन्धले वर्षौंदेखि जोखिममा रहेका बस्ती र कृषि क्षेत्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ।

आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार हालसम्म करिब दुई हजार पाँच सय मिटर स्थायी तटबन्ध निर्माण गरिएको छ। राप्तीसोनारी गाउँपालिका–२ मा मात्र करिब दुई सय बिघा खेतीयोग्य जमिन संरक्षण हुनुका साथै नदी कटान र डुबानको जोखिम उल्लेख्य रूपमा घटेको छ।

उनका अनुसार एसियाली विकास बैंक (एडिबी)को सहयोगमा राप्तीसोनारी–२ मा दुई हजार पाँच मिटर तटबन्ध निर्माण गरिएको छ। त्यसैगरी विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत दुई सय मिटर, नेपाल सरकारको लगानीमा एक सय ३० मिटर, राप्तीसोनारी–७ को खल्लाझगडियामा पाँच सय मिटर र डुडुवा गाउँपालिकाको होलियामा दुई सय २० मिटर तटबन्ध निर्माण गरिएको छ।

तटबन्ध निर्माणसँगै राप्तीसोनारीका कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्लाझगडिया तथा नरैनापुर गाउँपालिकाका वडा नं. ५ र ६ का नदी तटीय बस्तीमा बाढी र कटानको जोखिम घट्दै गएको छ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारुले विगतमा वर्षायाममा स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्था रहे पनि स्थायी तटबन्ध निर्माणपछि त्यस किसिमको त्रास कम भएको बताए।

पश्चिम राप्ती नदीको बाढी र कटानबाट बाँकेमा हरेक वर्ष खेतीयोग्य जमिन र नदी तटीय बस्तीमा ठूलो क्षति हुने गरेको छ। आयोजनाले स्थायी तटबन्धलाई नदी नियन्त्रण, कृषि भूमि संरक्षण र तटीय बस्तीको दीर्घकालीन सुरक्षाका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा लिएको छ। स्थानीयले बाँकी जोखिमयुक्त क्षेत्रमा पनि यस्ता तटबन्ध विस्तार गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button