आफ्नै विश्व कीर्तिमान तोड्ने किलि पेम्बाको सपना अधुरै !
दोलखा । पाकिस्तानको गिलगिट बाल्टिस्तान स्थित ८,०५१ मिटरको ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरो (६,६५९ मि.) मा परी मृत्यु भएका दोलखा गौरीशङ्कर गाउँपालिका–९ बेदिङका ४५ वर्षीय किलि पेम्बा शेर्पा (किलु) को आफ्नै विश्व कीर्तिमान तोड्ने सपना अधुरै भएको छ ।

उनी दोस्रो पटक आठ हजार माथिका १४ वटा हिमाल आरोहण गरेर अर्को विश्व कीर्तिमान कायम गर्न चाहन्थे । उनले गत असोजमा आठ हजार माथिका १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरिसकेका थिए । त्यसैगरी उनले सन् २०२१ जनवरी १६ मा १० सदस्यीय आरोहण टोलीमा सहभागी भएर विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।
सरकारले आधिकारिक रुपमा किलि पेम्बा शेर्पा (किलु) को मृत्यु भएको जानकारी नदिए पनि ड्रोनबाट उनको शव देखिएको खबर पाकिस्तानबाट प्राप्त भएपछि उनको परिवारले अहिले मृतकको आत्माको चीर शान्तिको कामनासहित पूजा गरिरहेको काका दावा छिरी शेर्पाले बताए ।
किलि पेम्बा शेर्पा (किलु) लाई हिमाल आरोहणमा दावा छिरीले नै लगेका हुन् । दावा छिरीले पनि सगरमाथाको १५ पटक आरोहण गरेका छन् भने आठ हजार माथिका अरू धेरै हिमाल आरोहण गरिसकेका छन् ।
१८ वर्षको उमेरमा किलि पेम्बा पहिलो पटक आरोहीको भरिया बनेर हिमालतर्फ लम्किएका थिए । त्यसपछि उनी आरोहीको गाइड हुँदै हिमाल आरोहणमा विश्व कीर्तिमानी बनेका थिए ।
२१ वर्षको उमेरमा उनले पहिलो पटक चीन र नेपालको सिमानामा रहेको ८,२०१ मिटरको छोयु हिमाल (सोलुखुम्बु) को सफल आरोहण गरेको काका दावा छिरीले बताए । त्यस यता उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको १५ पटक आरोहण गरिसकेका छन् ।
किलि पेम्बा शेर्पा (किलु) को बुबा आमाको मृत्यु भइसकेको छ । अहिले उनको श्रीमती, एक छोरा, एक छोरी र दाजु दावा तेन्जी शेर्पा रहेका छन् । दाजु दावा तेन्जीले पनि सन् २०२१ जनवरी १६ मा १० सदस्यीय आरोहण टोलीमा सहभागी भएर भाइसँगै विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । दाजु दावातेन्जी अहिले नर्वेमा रहेको काका दावा छिरीले बताए ।
मृतक आरोही किलि पेम्बा शेर्पा (किलु) को शव नेपाल ल्याउन परिवार तथा माउन्टेन एभरेष्ट समिर्टस क्लब रोल्वालिङको तर्फबाट पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत सरोकारवाला निकायमा निवेदन दिइएको मृतकको काका दावा छिरीले बताए ।








प्रतिक्रिया राख्नुहोस्