तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एकीकरण इतिहासमा अमरसिंह थापाले गर्नुभएको योगदान स्मरण

काठमाडौँ । विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देह त्याग गर्नुभएका नेपाल एकीकरणमा योगदान गर्नुभएका राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औँ स्मृति दिवस मनाइएको छ ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा विसं १८०० मा नुवाकोट विजय गरेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शिलान्यास गरेको नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पुर्‍याउनुभएको योगदानका विषयमा स्मरण गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेलले अमरसिंह थापा इतिहासको असाधारण व्यक्तित्व भएको बताउनुभयो । राष्ट्रनिष्ठा र स्वाभिमानले युक्त थापाले प्रलोभन आउँदा ‘म बाघको बच्चा (डमरु) हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्तिले नै उहाँको व्यक्तित्व प्रस्ट हुने बताउनुभयो । सबै नेपालीले अमरसिंहको चरित्र बोक्नुपर्ने समय आएको न्यायधीश पोखरेलले बताउनुभयो । स्वाभिमानबाट बनेको अमरसिंहको इतिहास कसैले मार्न चाहेर नमर्ने पनि उहाँको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले कुमाउ, गढवाल, काँगडा लगायतका स्थल अमरसिंहले नेपालमा गाभ्न सफल भएको जानकारी दिनुभयो । यस्ता व्यक्तित्वका नाममा ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट सहयोगको पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । अर्का वाग्मती प्रदेशसभा सदस्य उद्धव थापाले धादिङको केवलपुरमा निर्माण भएको बडाकाजी अमरसिंह धामको विकासका लागि वाग्मती प्रदेश सरकाबाट सहयोगका लागि पहल गर्ने बताउनुभयो । 

इतिहास एवं संस्कृति विषयका प्रा डा राजाराम सुवेदीले अन्य बाइसे, चौबिसे राज्यमा नभएको एकीकरणमा मरेका सेनाका परिवारलाई मरवटबापत जग्गा दिने प्रचलनले नै गोरखा राज्यले नेपालको एकीकरण गर्न सफल भएको बताउनुभयो । 

अमरसिंहका विषयमा विद्यावारिधि शोध गर्नुभएका प्रा डा इन्दिरा जोशीले नुवाकोट जितेको २५ वर्षपछि पृथ्वीनारायण शाहले काठमाडौँमा आक्रमण गरेको जानकारी गराउनुहुँदै त्यो युद्धमा अमरसिंह पनि सक्रिय सहभागी हुनुभएको स्मरण गर्नुभयो । अमरसिंहको निडरता र निष्पक्षताको सबै नेपालीले अनुसरण गर्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा गोरखाको सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष हुँदा उहाँले अमरसिंहको स्मृति दिवस पारेर प्रत्येक वर्ष साउन १६ गते पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराउनुभएको थियो । 

सम्मानित भएपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विसं १८०८ मा गोरखाको सिरान चोकमै अमरसिंह जन्मनुभएको प्रमाण आफूले विभिन्न पुस्तकमा प्राप्त गरेपछि स्मृति दिवसमा पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराएको बताउनुभयो । सिरान चोकका डाँडामा पाँच/पाँच किलोमिटरको दूरीमा गढी रहेकाले त्यसको संरक्षणका साथ प्रचारप्रसार पनि गरिनुपर्ने पनि उहाँले बताउनुभयो । 

नेपाली सेनाका पूर्वसहायक रथी एवं सैनिक इतिहासविद् डा प्रेमसिंह बस्नेतले पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म नेपालको सीमा विस्तार गर्ने काममा अमरसिंहको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । अमरसिंहले विसं १८२० मा धुलिखेलको युद्धदेखि लडाइँ लड्न सुरु गरेको पनि उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । 

प्रतिष्ठानका संस्थापक अध्यक्ष बाबुरामसिंह थापाले अमरसिंहले सुगौली सन्धिलाई स्वीकार नगरी त्यही कारणले विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देह त्याग गरेको बताउनुभयो । देशको माया गर्ने अमरसिंह जस्ता व्यक्तित्वलाई भावी पुस्ताले सम्झने माध्यम बनाउनकै लागि प्रतिष्ठान स्थापना गरिएको जानकारी पनि उहाँले गराउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश थापा, वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर कार्की, कवयित्री डा शशी पण्डित, प्रा डा श्रीरामप्रसाद उपाध्यायलगायतले नेपाल एकीकरणको इतिहासमा अमरसिंहले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button