जाइकाको तेस्रो सरोकारवाला बैठक जारी
काठमाडौँ । जाइकाको सहकार्यमा तयार भइरहेको काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनासम्बन्धी रणनीतिक वातावरणीय मूल्याङ्कन परियोजनाको तेस्रो सरोकारवाला बैठक जारी छ।

आज होटल हिमालय, ललितपुरमा आयोजित बैठकमा जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदीओ सुजीले गुरुयोजनाअन्तर्गत सार्वजनिक यातायातको सेवा स्तर अभिवृद्धि, चक्रपथबाहिरका भिडभाडयुक्त क्षेत्रमा सडक क्षमता विस्तार तथा चक्रपथभित्र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
टोलीका प्रमुख सुजीले पार्किङको सहज व्यवस्था, सार्वजनिक यातायातको रुट पुनर्संरचना, चालकलाई तालिम तथा यातायात क्षेत्रको संस्थागत सुधारमार्फत सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरि पोखरेलले उक्त गुरुयोजनाको प्रतिवेदनले काठमाडौँ उपत्यकाको दीर्घकालीन सहरी विकास, वैकल्पिक सहरी यातायात प्रणालीको योजना निर्माण तथा वातावरण संरक्षणका लागि नीतिगत मार्गदर्शन प्रदान गर्ने बताउनुभयो।
बैठकमा जाइका विज्ञ टोलीका विज्ञहरूले प्रस्तावित गुरु परियोजनाले वातावरण संरक्षण ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी पारदर्शी ढङ्गले अघि बढाइएको जानकारी दिनुभयो ।
बैठकमा रेडियो नेपालका प्रतिनिधिहरूले काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामा रेडियो नेपालको प्रसारण सेवा समावेश गर्ने विषयमा जाइकाका विज्ञहरूलाई विचार गर्न सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्