सङ्घीय शासन प्रभावकारी बनाउनआवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत व्यवस्थापनलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध सम्बन्धि अभिमुखीकरण कार्यक्रममा अध्यक्ष दाहालले अहिले संविधान संशोधनको चर्चा भइरहे पनि मुख्य ध्यान सङ्घीयता कार्यान्वयन, आवश्यक नीतिगत सुधार तथा संघ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले संविधानअनुसार निर्माण हुनुपर्ने कानुनलाई व्यवस्थित रूपमा अघि बढाउन विभिन्न समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विधेयकहरूमाथि विज्ञहरूसँग छलफल गरी छिटो निष्कर्षमा पुग्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।
कार्यक्रममा सांसदहरूले संविधानको मर्मअनुसार विधायिकी समन्वयका लागि स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्ने र सङ्घीयतालाई सबलीकरण गर्न प्राथमिकताका आधारमा आवश्यक कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले संघ, प्रदेश र स्थानीय तहले आवश्यक समन्वय बिना आ–आफ्नै ढंगले कानुन निर्माण गर्दा विधायिकी समन्वय र संस्थागत क्षमता कमजोर बन्दै गएको धारणा राख्नुभयो ।
अध्यक्ष डा. देवकोटाले कर्मचारी समायोजन अपूर्ण रहँदा प्रदेश र स्थानीय तहमा जनशक्तिको अभाव देखिएको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्