हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
काठमाडौँ। झण्डै दुई अर्ब बराबरको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङ घर भई नागार्जुन नगरपालिका–८ बस्ने वर्ष ४९ को राजेन्द्रप्रसाद रिजाललाई सोही ठाउँस्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।
केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा त्यस्ता शङ्कास्पद व्यक्तिको बैङ्किङ कारोबार विश्लेषण गर्दै जाने क्रममा उनलाई पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिनुभयो ।
निजले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी रु एक अर्ब उनानब्बे करोड पैसठ्ठी लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्