रोपाइँका लागि प्रति घण्टा एक हजार तिर्दै सल्यानका किसान
सल्यान । मध्य साउन हुन लाग्दा समेत पर्याप्त वर्षा नहुँदा सल्यानका किसानहरू पानी किनेर धान रोपाइँ गर्न बाध्य भएका छन् । लामो समयदेखि वर्षा नहुँदा सिँचाइका प्राकृतिक स्रोत सुकेपछि कुमाख गाउँपालिका–१ शान्ति बजारका किसानहरूले मोटरबाट पानी तानेर प्रतिघण्टा एक हजार रुपैयाँ तिर्दै धान रोपाइँ गरिरहेका छन् ।

स्थानीय मर्म खोलाबाट मोटर प्रयोग गरेर खेतमा पानी पुर्याइँदै आएको छ । मोटरमार्फत पानी तानेबापत किसानहरूले प्रतिघण्टा एक हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीय केशव शर्माले बताउनुभयो । मोटरबाट पानी तान्दा उत्पादन लागत समेत बढेको उहाँको भनाई छ ।
विगतका वर्षहरूमा असार महिनाभित्रै अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुने गरे पनि यस वर्ष वर्षा नहुँदा धेरै खेत अझै बाँझै छन् । वर्षायाममा सिँचाइको मुख्य आधार बन्ने मर्म खोला तथा आसपासका साना खोलाहरूमा पानीको सतह घटेपछि वैकल्पिक उपाय अपनाउन बाध्य भएको शर्माको भनाई छ ।
पानी किनेर खेती गर्नु रहर नभई बाध्यता भएको अर्का किसान राम कुमार लामिछानेले बताउनुभयो । ‘प्रतिघण्टा एक हजार रुपैयाँ तिरेर पानी तानिरहेका छौँ । पाँच घण्टा मोटर चलाउँदा पनि एउटा खेत राम्रोसँग भिज्दैन,’ उहाँले भन्नुभयो ।
पानीको अभावका कारण रोपाइँ ढिलो हुँदा धान उत्पादनमा समेत कमी आउने चिन्ता उहाँको रहेको छ । सिँचाइका लागि ठूलो रकम खर्च गर्नुपरेकाले उत्पादन लागत बढ्ने र त्यसले प्रत्यक्ष रूपमा किसानको आम्दानीमा असर पर्ने उहाँको भनाइ छ ।
कृषि नै मुख्य पेशा रहेको कुमाख क्षेत्रका किसानहरू अहिले आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन् । स्थानीय किसानहरूले तत्काल राहतका कार्यक्रमसँगै दीर्घकालीन सिँचाइ योजनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्