तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ। नेपाली काँग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

 पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । 

श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा  मङ्गलबार निधन भएको थियो । उहाँ १२ बुँदे सहमतिको हस्ताक्षरकर्तामध्येका एक नेता हुन् ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

बैठकले स्वर्गीय नेता श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरेको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले  साउन १३, १४ र १५ गते  केन्द्र, प्रदेश  र जिल्ला कार्यालयमा  आधा झण्डा झुकाउने निर्णय गरेको बताउनुभयो ।

त्यसैगरी,  साउन १४ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

साथै, १३औँ दिनमा उहाँको गृहजिल्ला (स्याङ्जा)को कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभाको आयोजना गरिने जनाइएको छ ।

लोकतन्त्रको स्थापना, पुनर्स्थापना तथा सुदृढीकरणका लागि विभिन्न सङ्घर्ष र आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह  गर्नुभएका श्रेष्ठले  पटकपटक गरी छ वर्ष जेलजीवन  बिताउनुभएको थियो । 

स्वर्गीय श्रेष्ठ विसं २०४८, २०५६, २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्य र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा आपूर्ति र शिक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button