तपाईँ सुन्दै हुनुहुन्छः

अलैँची निर्यातमा नयाँ कीर्तिमान: गत वर्ष १२ अर्ब ६३ करोडको अलैँची निर्यात

इलाम। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै अलैँची निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार कार्यालय काँकडभिट्टाका अनुसार गत आवमा १२ अर्ब ६३ करोड रुपैयाँ बराबरको ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भएको हो। यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा चार अर्ब ९६ करोड रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा ४२ लाख ९४ हजार ५५० किलो अलैँची निर्यात भएको थियो।

अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार झापाको काँकडभिट्टा नाका हुँदै बाहिरिएको अलैँची मूल्य र परिमाण दुवैका हिसाबले अहिलेसम्मकै उच्च हो। उहाँले सिजनको सुरुवातदेखि नै मूल्य स्थिर रहेकाले यस वर्षको करिब ९० प्रतिशत आम्दानी प्रत्यक्ष रूपमा किसानको हातमा पुगेको बताउनुभयो।

इलामबाट मात्रै साढे दुई अर्बको निकासी
यस अवधिमा इलामबाट मात्रै करिब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको अलैँची निकासी भएको अनुमान गरिएको छ। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले जिल्लागत तथ्याङ्क छुट्टै उपलब्ध नभए पनि सबै जिल्लाको बिक्री केन्द्र झापाको बिर्तामोड रहेकाले त्यहाँको कारोबारका आधारमा इलामको हिस्सा उल्लेखनीय रहेको बताउनुभयो।

उहाँका अनुसार अघिल्ला वर्षहरूमा प्रतिमन ७० हजार रुपैयाँमा कारोबार हुने अलैँची गत आर्थिक वर्षमा एक लाख छ हजार रुपैयाँसम्ममा बिक्री भएको थियो। “किसानले अपेक्षा गरेभन्दा राम्रो मूल्य पाएका छन्,” पौड्यालले भन्नुभयो।

अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यतिबेला बिरुवा रोप्न र खेती विस्तार गर्न व्यस्त छन्। किसानहरूले अलैँची विकास केन्द्र तथा व्यावसायिक बगानबाट बिरुवा खरिद गरी नयाँ क्षेत्रहरूमा खेती विस्तार गरिरहेका छन्।

जमिनको उचाइका आधारमा भार्लाङ, रामसाई, गोलसारी, चिबे र नयाँ जिर्मलेलगायतका जातका अलैँची खेती गरिँदै आएको छ। इलामको माईजोगमाई गाउँपालिका–५ का किसान महेश सापकोटाले यस सिजनमा मात्रै डेढ लाख बिरुवा बिक्री गरेको जानकारी दिनुभयो।

यस वर्ष २५ मन सुक्खा अलैँची बिक्री गर्नुभएका सापकोटाले आगामी वर्ष ५० मनसम्म उत्पादन हुने अपेक्षा गर्नुभएको छ। उहाँले भार्लाङ जातको अलैँची खोटाङ, पाँचथर र ताप्लेजुङसम्म पठाएको तथा पश्चिमी जिल्लाबाट समेत माग बढिरहेको बताउनुभयो।

“अहिलेसम्म रोगको समस्या देखिएको छैन। बाहिरी जिल्लाबाट माग निकै बढेको छ। गत वर्ष र यस वर्ष उत्पादन पनि सन्तोषजनक रह्यो,” सापकोटाले भन्नुभयो।

अलैँचीबाट राम्रो प्रतिफल प्राप्त हुन थालेपछि देशभर यसको खेती विस्तार भइरहेको छ। अलैँची विकास केन्द्रका अनुसार हाल नेपालका ५४ जिल्लामा १४ हजार ३८३।५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र धनकुटालगायत कोशी प्रदेशका पहाडी जिल्लामा यसको उत्पादन बढी हुने गरेको छ।

मसालाका रूपमा व्यापक प्रयोग हुने अलैँची मुख्यतः भारत निर्यात हुँदै आएको छ। स्वास्थ्यका दृष्टिले समेत लाभदायी मानिने अलैँचीले पछिल्ला वर्षहरूमा नेपाली किसानको आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा स्थान बनाउँदै गएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button