धौलिगङ्गा बाँध खोलिँदै, महाकाली किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह
बैतडी । भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचनाअनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) धौलिगङ्गा पावर स्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिनेछ।
यस अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ।
प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुङ्गा–बालुवा सङ्कलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न समेत सचेत रहन आग्रह गरेको छ। साथै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्